Butwal Today

रसुवा बाढी : सयभन्दा बढी गाडी बगेको अनुमान

२४ असार २०८२, मंगलवार
अ+
अ-

 काठमाडौं ।

रसुवागढी भन्सार र निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा आइतबार राति आएको भीषण बाढीले ठूलो क्षति पुर्‍याएको प्रारम्भिक विवरण आएको छ। बाढीले यार्डमा राखिएका सयभन्दा बढी गाडी बगाएको अनुमान गरिएको छ। नेपाल इन्टरमोडलर विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार, बगेका सवारीमध्ये अधिकांश मालवाहक गाडी रहेका छन्।

“ठ्याक्कै कति गाडी थिए र क्षतिको विवरणबारे पछि नै खुल्छ, प्रारम्भिक अनुमान अनुसार सयभन्दा बढी गाडी बगेका छन्,” गजुरेलले भने। उनका अनुसार यार्डमा करिब २३० वटा सवारी साधन पार्किङ गरिएको थियो। तीमध्ये केही गाडीहरू बाढी आउनुअघि नै राति माथि सारिएको पनि जानकारी आएको छ।

इलेक्ट्रिक सवारी (इभी) भने केही पर रहेको हुँदा तुलनात्मक रूपमा कम क्षति पुगेको अनुमान गरिएको छ।

हाल घटनास्थलमा क्षतिको विस्तृत विवरण संकलन भइरहेको बताइएको छ। नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीले पनि अहिले तथ्यांक संकलनकै चरणमा रहेको र सरकारसँग समन्वय भइरहेको जानकारी दिए। “कति वटा गाडी बग्यो र कुन–कुन ब्रान्डका हुन् भन्ने विवरण आइसकेको छैन,” उनले भने।

पूरा विवरण आउन केही समय लाग्ने भए पनि यो बाढीले रसुवागढी क्षेत्रको यातायात र भन्सार सम्बन्धी संरचनामा गम्भीर असर पुर्‍याएको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?