© २०२३
सुर्खेत,२४ असार ।
जिल्ला वन कार्यालय जाजरकोटका वन अधिकृत अमरप्रसाद साह कुटिएको घटनाको विषयलाई लिएर विभिन्न कर्मचारीका सङ्घ सङ्गठनहरूले विरोध जनाएका छन् । क्रियाशील राष्ट्रिय स्तरका ट्रेड युनियनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै कार्य कक्षमै पुगेर साहमाथि हातपात गर्ने समूहलाई कानुनी दायरामा ल्याइ कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । नेपाल निजामती कर्मचारी युनियन कर्णाली प्रदेश, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन लगायतले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै घटनाप्रति विरोध जनाएका हुन् ।
‘कार्यकक्षमा काम गरिरहेको अवस्थामा अज्ञात समूह प्रवेश गरी कार्यालय समयमा साङ्घातिक आक्रमण गरेको घटनाप्रति दुःख व्यक्त गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ, ‘घटनाको तत्कालै छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याइनुपर्दछ ।’
नेपाल निजामती कर्मचारी युनियन सुर्खेतका निवर्तमान अध्यक्ष गणेश थापाले कार्यकक्षमाथि नै कर्मचारी कुटिनु भनेको सम्पूर्ण कर्मचारीमाथिको आक्रमण रहेको बताए । जुनसुकै विवाद र समस्याको समाधान वार्ता, संवाद र सामूहिक सौदाबाजीको माध्यमबाट निकाल्न सकिन्छ तर कामकारबाहीमा चित्त नबुझे कानुनी उपचारको व्यवस्था रहँदासमेत कार्यकक्षमै पुगेर कुटपिट गर्नु गलत हर्कत भएको थापाले जानकारी दिए ।
कार्यालयको काममा खटिएको कर्मचारीमाथि धम्की दिने,कुटपिट गर्ने र अभद्र व्यवहार गर्नेहरूलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्न माग उनले गरेका छन् ।राष्ट्रसेवक कर्मचारीमाथि हुने यस प्रकारका घटनाले सेवा प्रवाहमा असर पर्नुका साथै उच्च मनोबलका साथ काम गर्ने वातावरण नरहने भएकाले यस प्रकारका गतिविधिहरूलाई निरुत्साहित गर्दै कर्मचारीहरूले सेवा प्रवाह गर्ने कार्यस्थलको सुरक्षाको प्रत्याभूत गराउन राष्ट्रिय स्तरका ट्रेड युनियनहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
असार २२ गते दिउँसो कार्यालयमा काम गरिरहेको अवस्थामा चार जनाको समूहको साहलाइ कुटपिट गरेका थिए । घटना लगत्तै उनीहरू फरार छन् । प्रहरीले खोजी जारी राखे पनि हालसम्म पक्राउ परेका छैनन् । साहका अनुसार आफूले कार्यालयमा काम गरिरहेको समयमा तीन, चार जनाको समूहमा आएका व्यक्तिहरूले एक्कासि कुटपिट गरेका थिए । कुटपिटबाट साह सामान्य घाइते भएका थिए ।