काठमाडौँ ।
लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधन तथा संरचनात्मक क्षति पुर्याएको छ। हालसम्म ७ जनाको शव फेला परेको छ भने २० जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

बेपत्तामध्ये ३ जना नेपाल प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण छन्। उद्धार कार्य जारी रहेको र अहिलेसम्म ५५ जनाको सकुशल उद्धार गरिएको छ।
बाढीबाट गोसाइँकुण्ड गाउँपालिका (१, २, ३), आमाछोदिङ्मो गाउँपालिका (१, २, ४, ५), उत्तरगया गाउँपालिका (२, ४, ५) र कालिका गाउँपालिका १ सबैभन्दा बढी प्रभावित भएका छन्।
यस विपद्का कारण नेपाल–चीन सिमानामा रहेको मितेरी पुल बगाएको छ। साथै, ईभी चार्जिङ स्टेशन पूर्ण रूपमा ध्वस्त, भन्सार कार्यालय र ट्रान्सपोर्ट यार्डमा पनि ठूलो क्षति पुगेको छ। बाढीले रसुवागढी हाइड्रोपावरको ड्याममा गम्भीर क्षति पुर्याएको छ।
यस्तै, गोसाइँकुण्ड–पासाङल्हामु सडक पूर्णरूपमा अवरुद्ध भएको छ। विशेष गरी धुन्चेदेखि टिमुरेसम्मको खण्ड चर्किएको र सवारी आवागमन पूर्ण ठप्प भएको प्रहरीको भनाइ छ।
सरकार, सुरक्षा निकाय र स्थानीय तहको सहकार्यमा राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। जोखिमयुक्त क्षेत्रका नागरिकलाई सतर्क रहन र सुरक्षित स्थानमा सर्न अनुरोध गरिएको छ।



