© २०२३
रसुवा, २४ असार ।
नेपाल–चीन सिमानाको लेन्डे खोला हुँदै भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवाको गोसाइंकुण्ड गाउँपालिका–२ मा अवस्थित रसुवागढी जलविद्युत् आयोजनामा थुनिएका २३ जना कामदारहरूलाई नेपाली सेनाले उद्धार गरेको छ।
नेपाली सेनाले अन्य सुरक्षा निकाय र स्थानीयवासीहरूको सहकार्यमा हेलिकप्टर प्रयोग गरी उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जानकारी दिएको छ। बाढीपछि आयोजनास्थलमा फसेका कामदारहरूको अवस्था चिन्ताजनक बनेपछि उद्धार कार्य तीव्र रूपमा अगाडि बढाइएको थियो।
त्यसैगरी, सेनाले धादिङस्थित नं.६ बाहिनी अड्डाबाट गल्छी हुँदै त्रिशुली क्षेत्रतर्फ र रसुवास्थित श्रीनाथ गणबाट स्याफ्रुवेशी इलाकातर्फ सम्पर्कविहीन बनेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि थप फौज परिचालन गरेको पनि जनाएको छ।
प्राकृतिक विपद्का बेला देखाएको सुरक्षाकर्मी र स्थानीयको समन्वयात्मक प्रयासले सम्भावित ठूलो मानवीय क्षति हुनबाट रोकिएको बताइएको छ।