© २०२३
बाँके, २४ असार ।
किभा फाउन्डेसनको आयोजनामा नेपालगन्जमा निःशुल्क आँखा परीक्षण शिविर तथा मल्टी भिटामिन वितरण गरिएको छ ।
पश्चिम नेपाल कै प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको प्राङ्गणमा भिजन आँखा अस्पताल नेपालगन्जको प्राविधिक सहयोग र श्री बागेश्वरी महाआरती सञ्चालन तथा व्यवस्थापन समितिको सहकार्यमा सोमबारको महाआरतीको अवसरमा गरिएको हो ।
उक्त कार्यक्रम मार्फत एक सय ८५ जनाको आँखा जाँच गरिएको कार्यक्रम संयोजक वृजेश मिश्रले जानकारी गराए । जस मध्ये ५५ जना पुरुष र एक सय ३० जना महिला रहेका थिए । सामान्य समस्या भएकालाई निःशुल्क औषधि उपलब्ध गराएको र साथै मल्टी भिटामिन वितरण गरिएको किभा फाउन्डेसनका उपाध्यक्ष राम मोदीले जानकारी गराए ।
यस्तै, जटिल समस्या भएका बिरामीहरूलाई थप उपचारका लागि भिजन आँखा अस्पताल रिफर गरिएको छ । चस्मा आवश्यक पर्नेलाई सहुलियत मूल्यमा उपलब्ध गराउने र अप्रेसन गर्नुपर्ने भएमा ५० प्रतिशत सम्मको छुट उपलब्ध गराउने गरी सहकार्य भएको किभा फाउन्डेसनका उपाध्यक्ष राम मोदीले जानकारी दिए । जटिल समस्या भएकाहरूलाई आजै देखि थप उपचारका लागि भिजन आँखा अस्पतालमा उपचार गाउने व्यवस्था मिलाइएको छ ।