Butwal Today

प्रधानमन्त्री ओलीले टेक्सासमा रहेका नेपालीहरूलाई सतर्क रहन आग्रह

२४ असार २०८२, मंगलवार
अ+
अ-

 काठमाडौं, २४ असार ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको टेक्सास राज्यमा रहेका नेपालीहरूलाई सतर्क रहन आग्रह गरेका छन्। बीबीसीका अनुसार टेक्सासमा आएको भीषण बाढीका कारण हालसम्म १०० भन्दा बढी व्यक्तिको ज्यान गएको पुष्टि भएको छ, जसमा केर काउन्टीका मात्रै कम्तीमा ८४ जना परेका छन्।

सरकारी अधिकारीहरूका अनुसार अझै पनि दर्जनौं मानिस हराइरहेका छन् र उनीहरूको खोजी कार्य चौथो दिनसम्म पनि जारी छ। त्यहाँको स्थितिलाई भयावह भन्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत नेपाली समुदायलाई सजग रहन आग्रह गरेका हुन्।

“अमेरिकास्थित टेक्सासमा धेरै नेपालीको बसोबास छ। त्यहाँ अहिले बाढीका कारण १०० जना भन्दा बढीको ज्यान गएको खबर आएको छ,” उनले लेखेका छन्, “टेक्सासको बाढीबाट ज्यान गुमाउने सबैलाई श्रद्धाञ्जली अर्पण गर्दछु। त्यहाँ बसोबास गर्ने नेपालीहरूलाई सतर्क रहन आग्रह गर्दछु।”

बीबीसीको रिपोर्टअनुसार केर काउन्टीस्थित ‘क्याम्प मिस्टिक’ नामक बालिकाहरूको ग्रीष्मकालीन शिविरमा कम्तीमा २७ बालिका र कर्मचारीको मृत्यु भएको छ भने अझै १० जना बालबालिका र एक जना काउन्सिलर बेपत्ता छन्।

बाढीबाट प्रभावित क्षेत्रमा अझै पनि वर्षा जारी रहेको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रभावित क्षेत्रको अवलोकन भ्रमण गर्ने तयारी गरिरहेको ह्वाइट हाउसले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?