© 2026
पाल्पा, २३ असार ।
मुलुक सङ्घीय संरचनामा प्रवेश गर्नु पूर्व जिल्ला विकास समितिले असार लागेपछि तीन महिना सम्म ग्रामीण सडकमा ट्याक्टर मुख्य राजमार्गमा टिप्पर सञ्चालनमा रोक लगाउँदै आएको थियो । एकात्मक शासन प्रणालीको अन्त्य भएसँगै तत्कालीन जिल्ला विकास समितिले गरेका यस्ता निर्णय अर्थहीन भएका छन् ।
स्थानीय सरकारले ग्रामीण क्षेत्रका कच्ची सडकमा सडक सुरक्षाका लागि ट्याक्टर सञ्चालनमा रोक लाग्दा १० टन क्षमताका राजमार्गमा २५ टन निर्माण सामग्री ढुवानी गर्ने टिप्पर भने बुटवल पाल्पा सडक खण्डमा निर्वाध रूपमा गुडिनै रहेका छन् । विशेष गरी सिमेन्टको कच्चा पदार्थ चुन ढुङ्गा नै हो । चुन ढुङ्गा खानी गत १५ गते देखि ३ महिनाका लागि बन्द भए पनि टिप्पर गुड्न बन्द नभएको स्थानीयहरू बताउँछन् ।
सडक क्षमता भन्दा बढी सामग्री राखेर दैनिक ठुलो सङ्ख्यामा टिप्पर गुडेका कारण बुटवल पाल्पा सडक खण्डमा पर्ने साना ठुला खोला माथिका पुल तथा कल्भर्ट ध्वस्त हुँदै गयो । यस विषयमा कसले ध्यान दिने हो तिनाउ गाउँपालिका दोभानका कृष्ण दर्लामी बताउँछन् ।
खानी त बन्द भयो तर टिप्परले निर्माण सामाग्री ढुवानी गर्दै छ । सडकको क्षमता भन्दा बढी ४० टन सामान राखेर ढुवानी गर्ने सवारीका साधन पनि छन् । उनीहरूका कारण राजमार्ग नै ध्वस्त भयो । सर्देवामा सञ्चालित सिजी सिमेन्ट, औद्योगिक घराना तथा सांसद विनोद चौधरीको लगानीमा सञ्चालित उद्योगमा ४० टन कोइला लिएर पाल्पा तर्फ आउँछ क्लिड्डर लिएर फर्कने गर्दछन् । कोइला बोकेका सवारीका साधनले बाटोका मोडहरूमा कोइला झर्दा बाटो नै कालो हुन्छ ।
यस्ता सवारीका साधनले सडक मात्र नभई पहाडै ध्वस्त भएको रिब्दीकोट गाउँपालिका खस्यौलीका कपिल खनाल बताउँछन् । पछिल्लो समयमा जिल्लाका धेरै ठाउँमा चुन ढुङ्गा खानी सञ्चालनमा आएका छन् । व्यापारी व्यवसायी, राजनैतिक दलका नेता सम्मका व्यक्तिको टिप्परमा लगानी भएका कारण वर्षा याममा समेत क्षमता भन्दा बढी यस्ता साधनहरू गुडेका छन् । पावर, सत्ता र शक्तिको आडमा वर्षादमा टिप्पर गुडाउने प्रतिनिधि सभा सदस्य देखि राजनैतिक दलका जिम्मेवारी निकायमा रहेका व्यक्ति सम्म रहेका छन् ।
राजनैतिक तथा सडक सुरक्षाका लागि सङ्घीय सरकारले यातायात व्यवस्था विभागले सबै जिल्ला प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी क्षमता भन्दा बढी भार वहन सवारीका साधन लाई कारबाही गर्न केही दिन अगाडि पत्राचार गरेको थियो । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले क्षमता भन्दा बढी भार वहन माल बाहक सवारीका साधनलाई कारबाहीको दायरामा ल्याउने बताउँदै राजमार्गमा गुडेका टिप्परको अन विज्ञता प्रकट गरे ।