काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्। संसद बैठक सोमबार दिउँसो १ बजेका लागि तय गरिएको छ।

प्रधानमन्त्री ओलीले हालै सम्पन्न स्पेन भ्रमणका विषयमा संसदलाई जानकारी गराउने कार्यक्रम रहेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्। उनका अनुसार प्रधानमन्त्रीले एक साताअघि सम्पन्न स्पेन भ्रमणमा भएका गतिविधि, उपलब्धि र छलफलबारे संसदलाई जानकारी गराउने छन्।
बर्तौलाले नेपालखबरसँग कुरा गर्दै भने, ‘प्रधानमन्त्रीको स्पेन भ्रमणमा के के भयो, त्यो विषयमा आज संसदलाई जानकारी गराउनु हुनेछ। त्यसबाहेक अरु समसामयिक विषयमा पनि उहाँले बोल्ने कार्यक्रम छ।’
प्रधानमन्त्री ओली असार १४ गतेदेखि २० गतेसम्म स्पेनको भ्रमणमा रहेका थिए। भ्रमणका क्रममा उनले विभिन्न अन्तर्राष्ट्रिय बैठक तथा भेटघाटमा सहभागिता जनाएका थिए। आजको सम्बोधनमा ती सबै विषयबारे संसदलाई जानकारी गराइनेछ।




