© २०२३
तिलोत्तमा ३ डिङ्गर नगरमा रहेको दूरगामी सहकारी ठगीको घटनाले आम सहकारी सदस्यहरूमा चिन्ता थपिएको बेला शनिवार सहकारी दिवस मनाइएको छ । ‘सुखद भविष्यका लागि सहकारीलाई बलियो बनाऔँ’ भन्ने नाराका साथ विश्व सहकारी दिवस मनाउँदै गर्दा सहकारीमा जोडिएका हजारौँ बचतकर्ताको रकम फिर्ताको विषय महत्त्वपूर्ण छ । तर, यो दिवस मनाउँदै गर्दा सहकारीमा अव पैसा राख्नु जोखिम हुने कुरा आम जनतालाई बुझाउनु पर्ने अवस्था सिर्जना भएको छ । किनभने नाम चलेका र बलियो ठानिएका सहकारी समेत डुब्दै जाँदा बचतकर्ताको रकम जोखिममा परेको छ । दूरगामी सहकारीले राम्रो नतिजा दिइरहेको थियो ।
तर, यसका सञ्चालकहरूले यसलाई डुबाए । अहिले सयौँ बचतकर्ताको रकम जोखिममा परेको छ । सहकारीका अध्यक्ष, सचिव र व्यवस्थापक फरार हुनु भनेको सहकारीको रकम ठुलो मात्रामा अपचलन भएको प्रमाणित भएको छ । अहिले सहकारीका सदस्यहरू दिनहुँ पैसा फिर्ता पाउने आशामा सहकारी धाउने गरेका छन् तर सहकारीका सञ्चालकहरू फरार हुँदा करोडौँ रकम अपचलन भएको आशङ्कामाथि बल पुगेको छ ।
यसअघि दुई महिना अगाडी बुटवलको एउटा अर्को सहकारीका सञ्चालकहरू समेत एकाएक कार्यालयमा ताला चाबी लगाएर फरार भएका थिए । रास्वपा अध्यक्ष रवि लामिछाने जोडिएको सुप्रिम सहकारी ठगीको कुरा त छँदै छ । यसरी बुटवलकै हजारौँ ग्राहकले सहकारीमा राखेको रकम डुबेको छ । सहकारी दिवस मनाउँदै गर्दा सहकारीमा पैसा राख्नु जोखिम हो भन्ने कुरा आम जनमानसमा जानकारी दिनु जरुरी छ । नेपालमा सहकारी संस्था दर्ता गरेर जनताको रगत पसिनामाथि ठगी धन्धा चलाउने गिरोहको पर्दाफास हुँदै आएको छ ।
राजनैतिक दलका उच्च पदस्थ नेता र कर्मचारीतन्त्रसम्म उनीहरूको जालो विस्तारले सहकारी कमाउधन्धाका लागि नै स्थापना भएका हुन भन्दा अन्यथा हुँदैन । यद्यपि सबै सहकारीलाई एउटै डालोमा हाल्न सकिँदैन तर जनताको गुनासो बैंक र वित्तीय संस्थाहरू जस्तै सहकारीहरूले बचतकर्ताबाट निक्षेप सङ्कलन गर्ने र उनीहरूलाई नै चर्को ब्याजमा फसाउने गरिएको भन्ने छ । अर्कोतर्फ सहकारीमा राखेको रकम सुरक्षित छ भन्ने कुराको ग्यारेन्टी समेत नहुने अवस्था आएको छ । किनभने पछिल्लो समय सहकारीहरू बचतकर्ताको पैसा उठाएर भाग्ने प्रवृत्ति बढ्दै गएको छ भने लघुवित्तहरूले ऋणीबाट चर्को साँवा ब्याज उठाएर जनतालाई आतङ्कित बनाएको घटना सार्वजनिक भैसकेको विषय हो । सहकारीहरू सहकारी नियम अनुसार सञ्चालन हुन नसक्दा यो अवस्था आएको छ ।
तसर्थ नेपाल सरकारले सहकारीलाई कडा नियमन गर्नु जरुरी छ । सहकारीलाई मनपरी गर्न छोड्दाको परिणाम आज हजारौँ बचतकर्ताको रकम डुबेको अवस्था हो । अहिले पनि सहकारीका पदाधिकारीले सहकारी ऐन नियम विपरीत तलब खाएको उदाहरण देखिएको छ । निश्चित रूपमा जनताको पैसामा रजाइँका घटनालाई मात्रै अध्ययन गर्ने हो भने पनि सहकारीको नाम अग्रपङ्क्तिमा आउँछ । गाउँमा भन्दा सहरमा बेथिति बढी छ । सहकारीले ठगेका उजुरीका चाङ प्रायः प्रत्येक जिल्लाका प्रहरी कार्यालयमा सुरक्षित रहेको अवस्था छ ।
राम्रामा गनिने सहकारी पनि केही समयमा टाट पल्टिएका उदाहरण खोज्न गाह्रो छैन तर पनि नयाँ खुल्ने र सदस्य ठगिने क्रम उस्तै छ । प्रतिष्ठित सहकारी समेत डुब्न थालेपछि अव कुनै पनि सहकारीप्रति विश्वास गरिहाल्ने अवस्था छैन भन्दा अत्युक्ति हुँदैन । सहकारी नियममा नचल्दा र सरकारले समयमै अनुगमन नगर्दाको परिणामकै कारण अहिले सहकारी जोखिममा परेका हुन । नेपालमा धेरै सहकारीले सहकारीको मर्म र भावना विपरीत काम गर्दै आएको अवस्था छ । केही सहकारीले गलत गर्दा अरू सहकारी बदनाम हुने अवस्था आएको छ । अतः सहकारी दिवसको सन्दर्भमा पछिल्लो पटक प्रकाशमा आएको दूरगामी सहकारीमा पैसा जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्नेतर्फ ध्यान जाओस् ।