काठमाडौं ।
सरकारले आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा नयाँ कर प्रणाली लागू गरेपछि त्यसको विरोधमा देशभरका सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त रुपमा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै असार २७ गतेसम्म चरणबद्ध रुपमा विरोध जारी राख्ने घोषणा गरेका छन्।

व्यवसायीहरु केही दिनदेखि आफ्ना पसल बन्द गरेर प्रदर्शनमा उत्रिएका छन्। उनीहरुले कर खारेज हुनुपर्ने माग गर्दै सरकारलाई खबरदारी गरिरहेका छन्। आज असार २२ गतेको कार्यक्रमअनुसार वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मागपत्र बुझाइनेछ भने न्युरोड क्षेत्रमा प्लेकार्डसहित एक घण्टा विरोध प्रदर्शन पनि गरिनेछ।
आन्दोलन क्रमशः व्यापक बनाउँदै लैजाने रणनीति अनुसार, असार २३ गते विज्ञहरुसँग छलफल गरी आगामी रणनीति तय गरिनेछ। त्यसपछि असार २४ गते उपत्यकाका जिल्लाहरूमा बाँकी रहेका कार्यक्रमहरू सम्पन्न गरिनेछन्। असार २५ गते गोष्ठिको आयोजना हुनेछ भने असार २६ मा काठमाडौंमा एक विशेष खबरदारी सभा गरिनेछ।
साताको अन्तिम दिन, अर्थात् असार २७ गते शुक्रबार, काठमाडौंमै राष्ट्रिय खबरदारी सभाको आयोजना गरिनेछ। व्यवसायीहरुले सरकारसँग संवादमार्फत समाधान खोजिने बताइरहे पनि माग सम्बोधन नभएसम्म आन्दोलन जारी राखिने स्पष्ट पारेका छन्।




