© २०२३
काठमाडौं ।
सर्वोच्च अदालतले चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवातसम्म रहेको ३०९ वटा आठ वर्षभन्दा पुराना मुद्दा सबै फर्छ्यौट गरेको छ। अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार दुई वटा मुद्दाको मात्र फैसला बाँकी छ र ती असार २४ गते सुनाइने मिति तोकिएको छ।
अहिले सर्वोच्च अदालतमा सात वर्ष पुराना १८२ र छ वर्ष पुराना ४३४ मुद्दा बाँकी रहेका छन्। आगामी आर्थिक वर्षभित्र सात वर्ष पुराना मुद्दा पनि शून्यमा झार्ने लक्ष्य राखिएको छ।
२०७९ असारमा बसेको न्यायाधीशहरूको पूर्ण बैठकले २०८३ सम्म पाँच वर्ष पुराना मुद्दा शून्यमा झार्ने कार्य योजना पारित गरेको थियो।
यसअघि २०८१ साउन १ गतेबाट लागू भएको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाअनुसार, सर्वोच्च अदालतले २०८३ सम्म पाँच वर्षभन्दा पुराना मुद्दा, उच्च र जिल्ला अदालतहरूले दुई वर्षभन्दा पुराना मुद्दा शून्यमा झार्ने र सबै मुद्दा १८ महिनाभित्र निर्णय गर्ने लक्ष्य लिएको छ। यसरी न्याय प्रणालीलाई छिटो र प्रभावकारी बनाउन सर्वोच्च अदालतले ठूला मुद्दाहरू समयमै अन्त्य गर्ने प्रक्रिया अघि बढाएको छ।