© २०२३
काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले अहिलेको अवस्थामा लगानीयोग्य रकम प्रशस्त रहेको बताउँदै, दिगो र सन्तुलित विकासका लागि लगानीको उचित अवसर आएको बताएका छन्।
आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘प्रि–मोनिटरी पोलिसी डिस्कसन’ कार्यक्रममा बोल्दै गभर्नर पौडेलले बैंकहरूमा निक्षेपको स्तर उच्च रहेको र विदेशी मुद्रा सञ्चिति पनि पर्याप्त भएकाले अहिलेको समय लगानी प्रवाहका लागि अनुकूल रहेको धारणा राखे।
उनले राष्ट्र बैंकसँग मात्रै हाल ५ खर्ब २० अर्ब रुपैयाँ थन्किएको जनाउँदै, अब वित्तीय नीतिले मार्गदर्शन गर्दै ऊर्जाजस्ता क्षेत्रका साथै अन्य सम्भाव्य क्षेत्रमा पनि लगानी परिचालन हुनुपर्नेमा जोड दिए।
गभर्नर पौडेलका अनुसार, मौद्रिक नीति र वित्तीय नीतिबीच समन्वय गरी अघि बढ्नुपर्ने आवश्यकता रहेको छ। बैंक तथा वित्तीय संस्थाको नियमन गर्दा अहिले माइक्रो–इकोनोमिक दृष्टिकोण आवश्यक भएको पनि उनले औँल्याए।
उनले ग्रामीण क्षेत्रमा ऋण पर्याप्त मात्रामा पुग्न नसकेको स्वीकार गर्दै, आगामी मौद्रिक नीतिमा उक्त चुनौतीलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे। “जुन क्षेत्रमा ऋण जानुपर्ने हो, त्यहाँ पुगेन भन्ने गुनासो छ,” उनले भने, “त्यो विषयलाई नीति मार्फत समाधान गर्ने प्रयास हुनेछ।”
गभर्नर पौडेलले सबैलाई समेट्ने, सबै क्षेत्रलाई माथि उठाउने र दिगो विकासलाई केन्द्रमा राख्ने मौद्रिक नीति तयार पारिने जानकारी दिँदै राष्ट्र बैंकले समावेशी र सन्तुलित आर्थिक वृद्धिमा सधैं प्राथमिकता दिने बताए।