© २०२३
देशमा अहिले प्रचार प्रसार र प्रकाशनमा आएका टिका टिप्पणी र राजनीतिक समाचारहरूमा आँखा लगाउँदा के कुरा दृष्टिगत हुन्छ भने नेकपा एमाले पार्टी भित्र पनि पार्टी नेतृत्वका क्रियाकलापहरूप्रति गहिरो असन्तोष व्याप्त छ । एमाले पार्टीभित्र अन्तर्निहित विकृति विसङ्गतिहरू जो छन् ती टडकारो रूपमा माथि माथि आउन थालेका छन् । नेतृत्व पङ्क्तिले अवलम्बन गरेका नीतिगत विसङ्गतिहरू कार्यकर्तामा भित्रभित्र गुम्सिएर धाँजिएर रहेको अवस्था देखिएको छ । हिजो नेतृत्वपंक्तिका विषयमा चूँ आखर बोल्न नसक्ने एमाले कार्यकर्ताहरूले आज स्पष्टताको साथ भन्न थालेका छन् कि अव नयाँ नेतृत्वको विषयमा पनि चर्चा हुनुपर्दछ । आवश्यक परेमा नेतृत्व बदल्नुपर्छ ।
अव राजनीतिक रङ्गमञ्चमा नयाँ नेतृत्वले स्थान पाउनु पर्छ भन्ने कार्यकर्ताहरूको यो स्पष्टोक्तिलाई महत्त्वपूर्ण मान्नुपर्दछ । एमाले नेताहरूमा पनि काँग्रेस, माओवादी या अरू सत्ताको निम्ति मरिहत्ते गर्ने पुँजीवादी पार्टीहरूमा जस्तै त्याग, तपस्या, सेवा भाव, निष्ठा, सद्विचार, सच्चरित्रता, स्वविवेक र राजनीतिक संस्कारको जुन खडेरी परेको छ, त्यो खडेरी माथि अब नयाँ वर्षा हुन्छ र नयाँ पिपिरा पालुवा पलाउँछन् र त्यसले शीतलता दिन्छ कि भन्ने आशाले नेतृत्व परिवर्तनको कामना गरेको छनक पाउन सकिन्छ । त्यसमा अब आउने आङ्कलन गरिएको नयाँ नेतृत्वले खासै साउनको वर्षा त के गराउला र तै पनि वैशाख, जेठ महिनाको चर्को धूपमा छाताको काम त अवश्य पनि गर्ने छ ।
आफ्नो लाज जोगाउन कै निम्ति मात्र भए पनि प्रचण्ड घाममा छाताको ओतले पनि ठुलो राहत पु¥याउने ध्रुर्वसत्य छ । कम्युनिस्ट निष्ठामा विश्वास राख्ने नेपालीहरूलाई झुक्क्याएर एमाले या माओवादी नेतृत्व पङ्क्तिले आजसम्म भारत, अमेरिका र युरोपियन युनियनका एजेन्डा बोकेर नयाँ जनवाद, बहुदलीय जनवाद, माओवाद आदि नामका खप्पर भिरी भित्रभित्र भारतीय विस्तारवाद तथा अमेरिकी तथा युरोपेली युनियनको निर्देशनमा जे जति अपराध गरेका छन्, त्यसलाई सच्चाउन पनि यी पार्टीहरूमा अब नयाँ नेतृत्वको अपरिहार्यतालाई स्वीकार गर्नु जरुरी छ । माओवादीको चर्चा अर्को प्रसङ्गमा गरौँला । अहिले एमालेको चर्चामा प्रसङ्ग उठेको हुँदा त्यही प्रसङ्गलाई अगाडि बढाऊँ ।
अहिले एमाले पङ्क्तिभित्र ओली धार र विद्यादेवी धारको रूपमा जुन दुई धार विकसित भएको छ, त्यसमा केपी ओली धारले विद्यादेवी भण्डारीको धारलाई परास्त गरी अस्तित्वमा आउन नदिनको निम्ति धेरै जोड बलका साथ लागिपरेको देखिन्छ । मार्क्सवादी दर्शनलाई आधार बनाएर जनताबाट विश्वास बटुली उठेको एमालेको नेतृत्वपंक्तिको धारले आजसम्म मार्क्सवादी सत्यको सधैँ उपेक्षा गरिरहयो । मार्क्सवादी सत्य भनेको शोषित पीडित जनसमुदायको हितको रक्षाको निम्ति सर्वतो निष्ठापूर्वक काम गर्नु हो । तर यो गुटले आजसम्म जनताका हितहरूको सदा काल उपेक्षा नै गरिरह्यो ।
मुट्ठीभर साधन सम्पन्न र सुविधा भोगीहरूको स्वार्थलाई नै जनताको स्वार्थ भनी जनआकाङ्क्षाको पटक्कै वास्ता गरेन । जनविरोधी कार्यलाई जबर जस्ती जनतामाथि थोपर्ने काम मात्र गर्दै आयो । यसको परिणाम आज जनताले जे भोगिरहेका छन्, त्यसैलाई नै उदाहरण मान्ने यथेष्ट आधारहरू हुन् । तसर्थ यस्ता मनपरी तथा अविवेकपूर्ण कार्यहरू सधैभरि चल्न सक्दैनन् । एक न एक दिन यी विकृति र असङ्गतिहरू आफै विस्फोटक बनेर जनताको अगाडि छरपस्ट नभई सुखै छैन । यो कुरा ध्रुव सत्य छ । हामीले मानौँ सत्य कटु हुन्छ । कटु सत्यलाई केही समयको निम्ति छलछाम गरेर ढाँटढुँट गरेर र जबरजस्ती थोपरेर अलिक पर सार्न सकिएला तर सधैँको निम्ति पन्छाउन सकिँदैन ।
हठी दम्भले सिङ्गो पार्टी पङ्क्ति र देशलाई तथा लोकतन्त्रको आदर्शलाई अगाडि होइन पछाडि धकेल्दछ भन्ने कुरालाई सबैले बिर्सनु हुँदैन । नेताहरूले आफ्ना भाषणहरूमा र प्रस्तावहरूमा लोकतन्त्र, जनवाद, जनवादी केन्द्रीयता एवं जनताको सर्वोच्चता सम्बन्धी आदर्शप्रति पूर्ण निष्ठा तथा समर्पण देखाएर हुँदैन । उक्त कथन तथा प्रस्तावहरूको सही प्रयोग हुनुप¥यो । आजसम्म भाषण, कथन र प्रस्तावहरू एउटा र त्यसको प्रयोग चाही ठिक उल्टो व्यवहार एवं गर्ने परम्पराले जनतामा लोकतान्त्रिक र दलहरू प्रति नै विश्वासको सङ्कट बढाएको हो । यस त्रुटिलाई अझै मलजल गर्न दिने हो भने त व्यवस्थाप्रति नै जनआस्था हराएर जान्छ । त्यसपछिको परिणति के हुन्छ भन्ने प्रश्नको उत्तरको खोजीमा सबैले एक पटक तल्लो ओठ टोकी निधार खुम्चाएर सोच्ने बेला आएको छ ।
हिजो एमाले पार्टीमा माधवकुमार नेपाल र केपी ओली पक्षधरहरू बिच कटुतापूर्ण सम्बन्ध विकसित हुँदै जाँदा त्यसलाई वेलैमा सही समाधान दिन नसकेपछि माधव नेपालले अलग्गै पार्टी बनाएर अगाडि बढे । त्यसपछि केपी ओली र भीम रावलबिचको अन्त विरोधलाई समाधान गर्न पट्टि लाग्नुको बदला भीम रावललाई पन्छाउने बदनियतलाई प्रतिवाद गर्न नसक्नुको परिणाम भीम रावल जस्तो प्रतिभाशाली व्यक्तिको बौद्धिक लाभ एमालेले लिन सकेन । अहिले विद्यादेवी भण्डारीको विषयमा जुन कुरा बाहिर आएको छ, त्यसलाई बेलैमा रोक्न नसके एमाले पार्टी फेरि पनि चोइटिएर टुक्रा टुक्रा र छिन्न भिन्न नहोला भन्न सकिँदैन । यदि एमालेको प्रारम्भिक कमिटीदेखि केन्द्रीय समितिसम्मले यस वास्तविकताको उपेक्षा गरी लहैलहैमा थपडी मार्दै जाने हो भने यो आगोमा झनझन भूस थपिँदै जाने छ ।
कम्युनिस्टहरूको एकमना सरकार बन्न सक्ने परिस्थितिलाई जानाजान भत्काएर जस्तोसुकै तत्त्वहरूसित कुम जोडेर सत्ताको शिखरमा बस्ने प्रवृत्तिको अन्त्य हुनु जरुरी छ । त्यो सबै एमाले कार्यकर्ता वा शुभचिन्तकहरूले बेलैमा बुझ्नु जरुरी छ । आज सम्झँदा रुन मन लाग्छ कि कम्युनिस्ट नेताहरूमा जनमुखी प्रवृत्ति पूरै लोप भएर जादैछ । त्यसमा पनि सत्तासीन कम्युनिस्टहरू त पूरै शोषक वर्गमा पतन भएका छन् । कम्युनिस्ट नेताहरूले रचेका विभिन्न भ्रष्टाचारका काण्डहरू त छँदैछन्, त्यसमा पनि मानव बेचबिखन जस्ता अपराध कर्ममा पुँजीवादी पार्टीका नेताहरूसँग मिलेर लिनु खानु गर्ने र यस्ता तत्त्वलाई कानुनको कठघरामा उभ्याउने सवालमा आफै सक्रिय भएर लाग्नुपर्नेमा तथ्य प्रमाण हुँदाहुँदै पनि उनको बचाउमा ज्यान फालेर लाग्नु ज्यादै चिन्ताजनक छ ।
यही चिन्ताजनक परिस्थितिले जन्माएको उकुसमुकुस तथा असमञ्जसयताको वातावरणबाट देशलाई मुक्त बनाउन सत्तासीन कम्युनिस्ट घटकको नेतृत्व पङ्क्तिमा आमूल फेरबदलको जरुरी छ । आफूलाई सधैँ निर्विकल्प भन्ने नेताहरूमा नेतृत्वमा परिवर्तनको कुरा सुन्नासाथ रिसले भुनभुनाउने अवस्थाको अन्त्य जरुरी छ । नेतृत्वमा परिवर्तनको कुराले नेताहरूमा १ सय ३ डिग्री ज्वरो आउनु कदापि राम्रो होइन । आफूबाहेक अरू सबै अयोग्य छन् भन्ने मूर्खता हो । यो पूर्णतया राजनीतिक बेइमानी हो । जाल हो, झेल हो, षडयन्त्र हो, जनतामाथि धोका हो, छलकपट हो । तसर्थ देशको बृहत्तर हितको कम्युनिस्ट आन्दोलनको साख जोगाउनको लागि तथा आम शोषित पीडित जनताको बृहत्तर हितको पक्षपोषणका लागि नयाँ नेतृत्वको खोजी अपरिहार्य छ ।