© २०२३
पाल्पा, २२ असार । रैनादेवी छहरा गाउँपालिका, सत्यवतीका किसान हुमबहादुर घर्तीले यस वर्ष मकै खेती हुने उर्वर बारीमा अन्नवालीको सट्टामा ५० वटा टिमूरका विरुवा रोपेका छन् । अन्नबालीमा वन्यजन्तुबाट हुने क्षतिको कारण वैकल्पिक नगदे बालीको खोजीमा रहेका उनी मात्र होइन, उनका छिमेकीहरूले पनि समूहगत रूपमा टिमूर खेतीको सुरुवात गरेका छन् ।
सत्यवतीसँगै रिब्दीकोट, जुठापौवा, वल्डेगढी, देउराली, मैनादी, फेक, पालुङखोला लगायतका बस्तीका किसानहरू पनि क्रमशः अन्नबालीको सट्टा टिमूर जस्ता वनवालीतर्फ उन्मुख भएका छन्। रिब्दीकोट, ठिमूरेका बुद्धीबहादुर राना भन्छन्, ‘पहिला टिमूर रोप्दा हाँसोको विषय बनिन्थ्यो, अहिले गाउँभर टिमूरका बोटैबोट छन् ।’
टिमूरको दाना जडीबुटी र मसला दुवैको रूपमा प्रयोग हुने भएकाले पछिल्लो समय यसको माग र मूल्य दुवैमा वृद्धि भएको छ । एक समय सालको पातमा राखेर डोकोमा बोकी बजार चहार्दा समेत नबिक्ने टिमूर अहिले घरमै ग्राहक पुग्ने बालीमा परिणत भएको छ । माथागढी गाउँपालिका सिकारकोटकी बसन्ती देवीका अनुसार, ‘अब सय मखरा बेच्न बजार जानु पनि पर्दैन ।’
डिभिजन वन कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङका अनुसार, टिमूर खेती १,००० देखि २,५०० मिटरको उचाइमा उपयुक्त मानिन्छ, यद्यपि केही क्षेत्रमा योभन्दा तलको भूभागमा पनि सफल खेती भइरहेको छ । वन्यजन्तुबाट हुने क्षतिलाई कम गर्न र गाउँमा रोजगारीको अवसर सिर्जना गर्न वन कार्यालयले पनि टिमूर खेतीलाई प्रोत्साहन गर्दै आएको छ ।
यस वर्ष डिभिजन वन कार्यालयले सल्यानबाट १८,००० टिमूरका बिरुवा ल्याई वितरण गरेको छ । रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाका कृषकहरूले सबभन्दा धेरै बिरुवा रोपेका छन् । डिभिजन वन कार्यालयका प्रमुख नारायण देव भट्टराईका अनुसार, स्थानीय सरकारको सहयोग र प्रवद्र्धनले सुनसान गाउँहरू फेरि हरियालीले ढाकिने विश्वास गरिएको छ । वनमाराले ढपक्क ढाकिएका गाउँबस्तीमा टिमूर अब नगदे बालीका रूपमा हरियाली बोकेर फस्टाउँदै गएको छ ।