© २०२३
बुटवल, २२ असार ।
२१ वर्षदेखि बुटवल उपमहानगरपालिका वडा नं. १२ मा बसोबास गर्दै आएका इन्द्रलाल भट्टराई लालपुर्जाको आशमा छन् । सरकार र भूमि आयोगको बढ्दो तदारुकताका कारण यसपटक भने अवस्था केही फरक देखिएको उनी बताउँछन् । दशकौंदेखि आफैंले सुकुम्बासी जग्गा किनेर बनाएको घर र जोतेको जमिनमा ‘हकदावी’ गर्न नसक्ने उनी अब भने थोरै आशा जागेको बताउँछन् ।
यता १७ वर्षदेखि बुटवल ११ मा अव्यवस्थित बसोबास गर्दै आएकी सृजना शर्मा पनि लालपुर्जाको आशमा छिन् । लामो समयदेखि भोगचलन गरी बसिरहेको भएपनि कानुनी रुपमा आफ्नो नाममा लालपुर्जा नहुँदा दुख पाएको उनी बताउँछिन् । ‘बैंकबाट ऋण लिन, घर निर्माण गर्न, स्थानान्तरण गर्न बालबच्चाको नाममा सम्पत्ति सार्न असमर्थ छौ ।’– उनले भनिन् ।
२४ वर्षदेखि देवदहमा बसोबास गर्दै आएकी उमा ढकाल पनि कानुनी रुपमा आफ्नो नाममा लालपुर्जा नआउँदा बैंकबाट ऋण लिन, घर निर्माण गर्न, स्थानान्तरण गर्न, बालबच्चाको नाममा सम्पत्ति सार्न असमर्थ भएको दुखेसो गरिन् । सरकारको पटक–पटकको प्रयास, आयोग गठन र नापजाँचको प्रक्रिया पहिलेको जस्तै हुँदा उनीहरूलाई लालपुर्जा पाइन्छ भन्ने कुरामा पटक्कै विश्वास थिएन । तर सरकार र भूमि आयोगको बढ्दो तदारुकताका कारण यस पटक भने अवस्था केही फरक देखिँदैछ ।
भूमि समस्या समाधान आयोगले लालपुर्जा नपाएकाहरूलाई लालपुर्जा उपलब्ध गराउने भन्दै नापजाँच सुरु गरेको यो पहिलो पटक भने होइन । पटक पटक सरकार परिवर्तनसँगै आयोगहरु गठन गर्ने र नापजाँच गर्ने गरेको भएपनि लालपुर्जा वितरण भएको छैन । मुलुक सङ्घीय संरचनामा गएर स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा उपलब्ध गराउने भन्दै रुपन्देहीमा वि.सं २०७७ सालदेखि जग्गाको नापजाँच सुरु गरिएको थियो ।
सबै प्रक्रिया पूरा गरेर घर घडेरीको नापजाँच गरे पनि सरकार परिवर्तनसँगै भूमि समस्या समाधान आयोग पनि फेरिने गर्दा लालपुर्जा वितरण हुन सकेको थिएन । यसपालि त पक्कै पाइने भो भन्दै रुपन्देहीका जनता खुशी छन् । रुपन्देहीका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवास गरेका जनताको लालपुर्जाको सपना पुनः जीवित भएको छ । भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष कुमार थापा भन्छन्, “बुटवल मात्र होइन, अहिले सम्पूर्ण जिल्लामा नापजाँचको काम तीव्र रूपमा भइरहेको छ । यसपछि भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई क्रमशःलालपुर्जा वितरण गरिनेछ ।”

थापाको भनाइले मात्र होइन अहिले फिल्डमा भौतिक रूपमा कामको तीव्रता देखिएपछि जनतामा विश्वास बढ्दै गएको छ । बुटवल उपमहानगर, देवदह नगरपालिका, सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका र कञ्चन गाउँपालिकामा नापजाँचको काम दु्रत गतिका साथ भइरहेको थापाले बताए । कतै काम अन्तिम चरणमा पुगेको छ भने कतै लालपुर्जाका लागि राजस्व दाखिला गर्न सूचना जारी भइसकेको छ ।
आयोगका अध्यक्ष थापाका अनुसार लालपुर्जा वितरण सजिलो प्रक्रिया भने छैन । सुरुमा वडा कार्यालयमार्फत व्यक्ति तथा जग्गाको पहिचान गरिन्छ । त्यसपछि सूचीकरणका लागि १५ दिने सूचना, त्यसपछि ७ दिने ब्लक पास, नापजाँच, दावी विरोध, राजस्व दाखिला र अन्ततः लालपुर्जा वितरण हुन्छ । यो सम्पूर्ण प्रक्रिया अन्त्यसम्म पुग्न महिनौं लाग्न सक्छ, तर यसपटक स्थिरता र प्रतिबद्धताले आशा जगाएको छ ।


रुपन्देहीमा कुल ७६ हजार ६ सय ५६ जनसंख्या भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको सूचीमा छन् । तीमध्ये भूमिहीन दलित दुई हजार ९९७, भूमिहीन सुकुम्वासी ६ हजार ६१, अव्यवस्थित बसोबासी ६६ हजार ९९८ रहेका छन् ।
यी मध्ये बुटवलमा मात्र १५ हजार ५ सय ९८ जना अव्यवस्थित बसोबासी, ३ सय ३३ भूमिहीन दलित र ३ सय ४३ सुकुम्वासी छन् । २०७७ सालबाट शुरु भएको यो अभियानले पहिलो ठोस सफलता कञ्चन गाउँपालिका–५ मा देखाएको छ, जहाँ ४ सय ५१ परिवारलाई लालपुर्जा वितरण आइतवार गरिएको छ ।
यस्तै, देवदहन गरपालिकामा ८ सय ५० जनाले राजस्व तिरेर पर्खिरहेका छन् । सियारीमा ११ जनाको लालपुर्जा तयार अवस्थामा छ । सैनामैना–१ मा २ सय ७८ र तिलोत्तमा–१० मा १ सय ३२ जनाको लालपुर्जा प्रक्रिया अन्तिम चरणमा पुगेको थापाको भनाई छ । आयोगका अध्यक्ष थापा भन्छन्–“अबको ८–९ महिनाभित्र जसको नाम अभिलेखमा छ, उनीहरूलाई लालपुर्जा दिन सकिन्छ, नापी भइसकेको र अभिलेखमा नाम दर्ता भएकालाई प्रथमिकतामा राखेर वितरण हुनेछ ।”
रुपन्देहीमा अझै पनि सुकुम्बासी जग्गा नापजाँच सम्बन्धमा पछि परेका पालिकाहरू रहेका छन् । सबै स्थानीय तहले यो प्रक्रिया अघि बढाएका छैनन् । लुम्बिनी सांस्कृतिक नगरपालिका, ओमसतिया, रोहिणी, समरीमाई, मर्चवारी, कोटहीमाई जस्ता पालिकाले अहिलेसम्म निवेदन समेत संकलन गरेका छैनन् । आयोगले श्रावण महिनाको दोस्रो साता यी पालिकाहरूमा ३५ दिने सूचना प्रवाह गर्ने तयारी गरिरहेको छ । यदि सो अवधिमा पनि कुनै निवेदन परेन भने ती जग्गाहरू स्वतः नेपाल सरकारको नाममा जानेछन् ।