Butwal Today

भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

२२ असार २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ स्थित धोदलेखानीमा ३० वर्षीय राजेन्द्र राईले आफ्नै ससुरालीमा गएर सासू, ससुरा, श्रीमती र सालो गरी एकै परिवारका चार जनाको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार राजेन्द्रले छुरा प्रयोग गरी ६८ वर्षीय बेलबहादुर गिरी, ४५ वर्षीया मञ्जु गिरी, मनिषा गिरी र सपन गिरीको हत्या बीभत्स रूपमा गरेका हुन्। मनिषा हत्याकाण्डका शिकारमध्ये आरोपीकी पत्नी पनि हुन्।

शनिवार राति करीब ११ बजे हत्या गरेर राजेन्द्रले प्रहरी कन्ट्रोलमा फोन गरी आफूले चार जनाको हत्या गरेको जानकारी गराएका थिए। प्रहरी घटनास्थलमा पुगेको बेला चारै जनाको शव भेटिएको थियो। आरोपीलाई घटनास्थलभन्दा करिब पाँच किलोमिटर टाढा हर्बु भञ्ज्याङबाट घाइते अवस्थामा नियन्त्रणमा लिइएको छ।

आरोपीलाई जिल्ला अस्पतालबाट थप उपचारका लागि धरान लैजान तयारी भइरहेको छ। उनले प्रहरीले दिएको बयानमा परिवारसँग विवाद हुँदा हत्याको घटना भएको प्रहरीको अनुमान छ।

राजेन्द्रले प्रहरीलाई भनेका छन् कि खाना खाएर सबै जना सुतिरहेका थिए। सल्याङ–बल्याङ आवाज सुनेर उठ्दा सासूले उनलाई छुरा प्रहार गरेको र त्यसपछि आफूले छुरा खोस्दै उनीहरूलाई आक्रमण गरेको बताएका छन्।

शुक्रबार राजेन्द्र पत्नीलाई लिएर ससुराली गएका थिए र पारिवारिक विवादले हत्याको कारण बनेको प्रहरीले अनुमान गरेको छ।