Butwal Today

त्रिवि पदाधिकारीमाथि विद्यार्थी युनियनको प्रवेश निषेध

२२ असार २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार तथा त्रिवि सेवा आयोगका पदाधिकारीहरूलाई विश्वविद्यालय परिसरमा प्रवेश निषेध गरेको छ।

कार्यवाहक अध्यक्ष शिवराज भट्टद्वारा जारी विज्ञप्तिमा, ‘अनुसन्धान विशिष्टतामा आधारित (फास्ट ट्र्याक)’ प्राध्यापक नियुक्ति प्रक्रियामा गम्भीर त्रुटि भएको आरोप लगाउँदै, माग पूरा नभएसम्म पदाधिकारीहरूको प्रवेश रोक्ने निर्णय गरिएको जनाइएको छ।

सङ्गठनले लिखित परीक्षा बेवास्ता गरी मौखिक परीक्षा र कृति प्रकाशनमाथि भर पर्दा आर्थिक चलखेल बढ्ने र विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्किने चेतावनी दिएको छ। ‘डॉलर तिरेर कृत्रिम कृति प्रकाशन गर्ने चलनले विद्वानहरूको सट्टा पैसाको भरमा नियुक्ति हुने खतरा बढेको छ,’ विज्ञप्तिमा भनिएको छ।

यसअघि माग पुरा गर्न विश्वविद्यालयमा तालाबन्दी गरेको अखिल क्रान्तिकारीले सर्वोच्च अदालतको आदेशपछि तालाबन्दी खोले पनि पदाधिकारीहरूलाई प्रवेशमा रोक लगाएर दबाब जारी राखेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?