Butwal Today

एमालेले अधिकांश स्थानीय तहमा अधिवेशन सकायो

२२ असार २०८२, आइतबार
अ+
अ-

 काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले देशभरका संगठनात्मक संरचनाको निर्माणमा तीव्रता दिँदै अधिकांश तहका अधिवेशन सम्पन्न गरेको छ। पार्टीका निर्वाचन आयोग अध्यक्ष डा. विजय सुब्बाका अनुसार एमालेले प्रदेश र सबै जिल्लाका अधिवेशन पूरा गरिसकेको छ।

अध्यक्ष सुब्बाका अनुसार, स्थानीय तहका ९८ प्रतिशत कमिटी, वडा कमिटीका ९० प्रतिशत, र टोल कमिटीका ५० प्रतिशत अधिवेशन सम्पन्न भइसकेका छन्। बाँकी अधिवेशन पनि पार्टीले तोकेको तालिका अनुसार अघि बढिरहेको जनाइएको छ। “स्थानीय तहका १० वटा कमिटी मात्र बाँकी छन्,” उनले भने, “विधान महाधिवेशनभन्दा अगाडि नै बाँकी अधिवेशन सक्नेगरी तयारी भइरहेको छ।”

यससँगै करिब छ हजार वडाका अधिवेशन सम्पन्न भइसकेको पनि आयोगले जानकारी दिएको छ।एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन गर्ने तयारी गरिरहेको छ। उक्त महाधिवेशनअघि पार्टीभित्रको संगठनात्मक संरचना मजबुत पार्ने रणनीतिअनुसार अधिवेशन प्रक्रिया अघि बढाइएको हो।

पार्टीका २३ जनसंगठनमध्ये १६ वटाको महाधिवेशन सकिएको छ भने बाँकी सात जनसंगठनको महाधिवेशन पनि विधान महाधिवेशनअघि सक्ने योजनामा एमाले रहेको बुझिएको छ।यस गतिका साथ एमालेको संगठनात्मक तयारी अब विधान महाधिवेशन केन्द्रित हुँदै गएको छ।