© २०२३
प्राचीन हिन्दू संस्कृतिमा एकादशी व्रतलाई विशिष्ट स्थान दिइएको छ । धार्मिक विश्वास अनुसार यो दिन भगवानको आराधना गरी आत्मशुद्धिको लक्ष्य राखिन्छ । तर वर्तमान वैज्ञानिक चेतना र आधुनिक अनुसन्धानका सन्दर्भमा हेर्दा एकादशी व्रत केवल धार्मिक आस्थाको विषय होइन, एक गहिरो जैविक, मानसिक र सामाजिक अभ्यास पनि हो ।
मानव शरीरको पाचन प्रणाली सधैँ क्रियाशील रहँदा क्रमशः थकित हुने सम्भावना हुन्छ । हरेक दिन भरिपूर्ण भोजन गर्दा आन्द्रामा भोजनको प्रसंस्करण, अवशोषण र उत्सर्जनको चक्र नियमितरूपमा चलिरहन्छ । यस्तो अवस्थामा समय समयमा अन्न त्याग गरिएमा पाचन तन्त्रलाई विश्राम मिल्छ । वैज्ञानिक रूपले पुष्टि भएको छ कि उपवासले शरीरमा रहेका नकारात्मक पदार्थहरू, विषाक्त तत्वहरू तथा अवशेष कोषहरू हटाउन सहयोग पु¥याउँछ । जब मानिस केही समय अन्न ग्रहण नगरी उपवासमा बस्छ, शरीर स्वचालित रूपमा ’अटोफ्यागी’ नामक प्रक्रियामा प्रवेश गर्छ। अटोफ्यागी भनेको शरीरले आफैँ भित्र रहेका क्षतिग्रस्त कोषहरूलाई पचाउने र नयाँ ऊर्जाशील कोष निर्माण गर्ने प्रक्रिया हो । सन् २०१६ मा जापानी वैज्ञानिक योशिनोरी ओसुमीले अटोफ्यागीको खोजका लागि नोबेल पुरस्कार पाएका थिए, जसले यो प्रक्रिया उपवास वा न्यून क्यालोरीयुक्त अवस्थामा झनै सक्रिय हुन्छ भन्ने प्रमाणित गरेको हो । यस अर्थमा एकादशी व्रतले शरीरलाई कोषीय स्तरमा सफा गर्छ।
यसबाहेक, एकादशी व्रतका दिन चामलजन्य अन्न नखानुका पछाडि पनि गहिरो कारण रहेको देखिन्छ । चामल मुख्यतः कर्बोहाइड्रेटयुक्त खाद्य पदार्थ हो, जसले शरीरलाई तत्काल ऊर्जा दिन्छ तर अत्यधिक मात्रा वा नियमित सेवनले मोटोपन, मधुमेहजस्ता समस्याहरू निम्त्याउन सक्छ । त्यसैले महिना दुई दिन चामलजस्ता अन्नको सेवन टार्दा शरीरले ’फ्याट’ ऊर्जा स्रोतको रूपमा प्रयोग गर्न थाल्छ, जसले चयापचयमा सुधार ल्याउँछ । यस प्रक्रियालाई ’केटोसिस’ भनिन्छ, जहाँ शरीरले ग्लुकोजको सट्टा फ्याट जलाएर ऊर्जा बनाउँछ । यो अवस्था मोटोपन नियन्त्रण गर्ने उपायका रूपमा चिकित्सा विज्ञानले समेत सिफारिस गरेको देखिन्छ ।
एकादशीको वैज्ञानिक महत्वको अर्को पाटो हो—चन्द्र प्रभाव । पृथ्वीमा चन्द्रमाको गुरुत्वीय प्रभावले समुद्रमा ज्वारभाटा ल्याउँछ भन्ने कुरा वैज्ञानिक रूपमा प्रमाणित भइसकेको छ । तर समुद्र मात्र होइन, मानव शरीरमा लगभग ७० प्रतिशत पानी हुने भएकाले चन्द्रमाको प्रभाव शरीरका तरल पदार्थहरूमा पनि पर्छ। विशेषगरी मस्तिष्क र स्नायु प्रणालीमा प्रभाव पर्ने भएकाले एकादशीको आसपासका दिनहरूमा मानिसको मानसिक अवस्था अलिकति संवेदनशील र अस्थिर हुनसक्छ । यस्तो अवस्थामा हलुका भोजन, उपवास वा अन्न त्यागले शरीरलाई स्थिर राख्ने काम गर्छ, जसले मानसिक तनाव, चञ्चलता र इन्द्रिय उत्तेजनामा नियन्त्रण ल्याउँछ ।
मानसिक स्वास्थ्यको सन्दर्भमा हेर्दा पनि व्रतले सकारात्मक असर पार्दछ । जब व्यक्तिले आफूले चाहेको कुरा खाँदैन, स्वादमा नियन्त्रण गर्छ, तब त्यो मानसिक अनुशासनको अभ्यास हुन्छ। यस्तो अभ्यासले आत्मनियन्त्रण, धैर्यता, संयमता र स्थिरता विकसित गर्छ । मनोविज्ञानमा यस्तो अभ्यासलाई ’विल डाइनेस्ट्रेन्थ’ भनिन्छ, जसले दीर्घकालीन निर्णय क्षमतामा सुधार ल्याउँछ। उपवासको समयमा मस्तिष्कमा ’बी.डी.एन.एफ.’ (Brain Derived Neurotrophic Factor) नामक न्यूरो–प्रोटिन उत्पादन हुन्छ, जसले स्मरणशक्ति, मानसिक स्पष्टता र सजगता बढाउँछ। यसैका कारण उपवासलाई विभिन्न धार्मिक अभ्यासहरूमा एक अनिवार्य अनुशासनको रूपमा स्थान दिइएको देखिन्छ ।
आधुनिक चिकित्सा पद्धतिहरूमा ’इन्टरमिटेन्ट फास्टिङ’ नामक अभ्यास निकै प्रचलित हुँदै गएको छ। यो अभ्यासमा दिनको केही समय (जस्तै १६ घण्टा) उपवास बस्ने र बाँकी समयमा हलुका र स्वस्थ भोजन गर्ने गरिएको छ । यसले इन्सुलिन स्तरमा सुधार ल्याउने, पेटको बोसो घटाउने, मुटु स्वास्थ्य सुदृढ गर्ने, ब्लड प्रेशर नियमन गर्ने र जीवन प्रत्याशा बढाउने प्रमाणहरू देखाएको छ । एकादशी व्रतले अचेत रूपमा यही अभ्यास पुरातन कालदेखि नै गराउँदै आएको छ ।
केवल शरीर र मन मात्र होइन, व्रतले सामाजिक र पारिवारिक सन्दर्भमा पनि अनुशासनको भूमिका खेल्दछ । जब सबै परिवारका सदस्यहरू मिलेर व्रत बस्छन्, धर्मशास्त्र पढ्छन्, एक–अर्कासँग सहिष्णुतापूर्वक व्यवहार गर्छन्, त्यो घरमा शान्त वातावरण सिर्जना हुन्छ । अन्न त्याग गर्नुको अर्थ केवल खाना नखानु मात्र होइन, लोभ, मोह, द्वेष, क्रोधजस्ता मनोविकारहरू पनि त्याग गर्नु हो । यस्तो अभ्यासले मानसिक शुद्धता ल्याउँछ, जसले सामाजिक व्यवहारमा सन्तुलन दिन्छ ।
धेरैजसो मानिसले व्रतलाई धार्मिक कर्मकाण्डको रूपमा बुझ्ने गरेका छन् । तर जब हामी यसलाई वैज्ञानिक चश्माबाट हे¥छौँ, तब यसको व्यावहारिक उपयोगिता स्पष्ट हुन्छ । एकादशी व्रतले हामीलाई नियमित रूपमा शरीर सफा गर्न, मन स्थिर पार्न, आत्मनियन्त्रण गर्न र स्वास्थ्य सुधार गर्न अवसर दिन्छ । न त यसमा कुनै महँगो खर्च लाग्छ, न त कुनै औषधि चाहिन्छ । केवल समय–समयको अन्न त्याग, हलुका भोजन र मानसिक शुद्धताको अभ्यासले जीवनमा ठूलो प्रभाव पार्न सक्छ ।
एकादशी व्रतलाई वैज्ञानिक सोचसहित अभ्यास गर्नु भनेको आफ्नो जीवनशैलीमा अनुशासन, समर्पण र स्वास्थ्यमूलक आदतहरूको प्रवेश गराउनु हो । यो केवल धर्मको अभ्यास होइन, विज्ञानले अनुमोदन गरेको जीवन पद्धति हो । यस्तो अभ्यासलाई पछ्याउनु भनेको शारीरिक सफाइ, मानसिक शान्ति र सामाजिक सद्भावको मार्ग रोज्नु हो । त्यसैले आजको युगमा, जब रोगहरूको संख्या बढ्दै गएको छ, जब औषधिमा भर परेर पनि स्वास्थ्यमा सुधार देखिँदैन, त्यहाँ यस्ता परम्परागत अभ्यासहरू जीवनको केन्द्रमा फर्काउनु समयको आवश्यकता हो ।