© 2026
राष्ट्रिय भजनगायक पं. चेतराज कण्डेलको सायद नाम नसुन्ने व्यक्तिहरू हामीहरू कमै छौँ । विशेषतःगुल्मी, अर्घाखाँची, बाग्लुङ्, पर्वत, रूपन्देही, कपिलवस्तु आदि स्थानका साथसाथै देशका अन्यत्र स्थानमा पनि हुने कुनैपनि सामाजिक एवम् व्यक्तिगत धार्मिक कार्यक्रमहरूमा प्रायः उहाँको उपस्थिति हुने गर्दछ । कुनै कारणले हुन सक्नुभएन भनेपनि उहाँद्वारा सिर्जित भजनहरूले धार्मिक कार्यक्रमको माहोल नै सुगन्धित र सुरम्य बनाउँदछ । उहाँका भजनहरू ईश्वरीय चिन्तनले युक्त शास्त्रोक्त विधिका हुने गर्दछन् । अनावश्यक तरिकाको हाउभाउले आफ्नो प्रचारप्रसार भन्दापनि शास्त्रीय ढङ्गका भजनहरूद्वारा भक्तका हृदयको सन्ताप हरण गर्ने उद्देश्य उहाँको रहन्छ ।
राष्ट्रिय स्तरको गायक भएर पनि उहाँले सबैका कर्णप्रिय आफ्ना भजनहरूलाई कहिले पनि अनावश्यक रूपमा असुहाउँदो तरिकाले प्रचारवाजीका लागि लगाउनुहुन्न । न त आफ्नो प्रचारवाजीकालागि अरूलाई प्रशंषा गर्नका लागि आग्रह नै गर्नुहुन्छ । न त फेरि राज्यले दिने सम्मानका लागि कसैसँग जी हजूरी नै गर्ने गर्नुहुन्छ । केही वर्ष पहिलासम्म त उहाँ विनाका धार्मिक कार्यक्रमहरू हुँदै हुँदैन थिए भन्दा पनि हुन्छ तर अहिले विशेषत नयाँ कलाकारहरू पनि कस्ता रहेछन् भन्नका लागि नयाँ कलाकारहरूको पनि माहोल देखिएतापनि ३० वर्षभन्दा पहिलेदेखि सङ्गीतका माध्यमले भक्तको सन्ताप हरणका लागि अनवरत उहाँ विनाको कार्यक्रमले बुढा पुरानाहरूलाई भने खल्लोपनको महसुस गराउँदछ ।
अझ उहाँको भोलेपन कहाँ देखियो भने आफुले रचना गरेर गाउन भनी ठिकठाक पारेका भजनहरू स्टुडियो भित्र छिरिसकेपछि अरूले हठात् तरिकाले चोरी गरेर गाइदिँदा पनि त्यस्तालाई उहाँले एक आखर पनि गाली गर्नुभएन । त्यसको बुद्धि त्यस्तै भयो भने के गर्ने ? परमात्माले त्यसलाई भलो नै गरून् भनी आफू ईश्वर चिन्तनमैँ रमाउनुभयो । आफ्ना ध्यान मार्गका विशेष चिजहरू चोरी हुँदा समेत चुप रहेर बस्नुहुने महर्षि महेश योगी जस्तै गरी नै राष्ट्रसन्त स्वामी परमानन्दका विशेष आशीर्वाद प्राप्त व्यक्ति मध्येका उहाँचुप रहेर बस्नुभयो । यसो हुनुमा उहाँलाई महर्षि योगीद्वारा वताइएको भावातीत ध्यानको प्रभाव पनि हो ।
पं. चेतराज कण्डेल जस्ता कलाकारहरू पं.चन्द्रमणि कण्डेल, पं. कपिल सुवेदी, राष्ट्रिय स्तरका भजन गायकहरू हिरालाल कण्डेल, शान्ती सुवेदी दिदी, सच्चिदानन्दजी आदि अरू पनि केही हुनुहुन्छ । उहाँहरूले पनि आफूले कुनै प्रचारवाजीका लागि भन्दापनि सङ्गीतका माध्यमले व्यक्तिहरूमा ईश्वरीय चिन्तन गराई उनीहरूको कल्याणका लागि शास्त्रोक्त भाव अनुसारका भजन रचना गर्दै गाउनुहुन्छ । भक्तहरूलाई सात्विक तरिकाले सङ्गीतका माध्यमले जीवत्व र शिवत्वको चिन्तन गराउनुहुन्छ ।
यसै प्रसङ्गमा केही वर्ष पहिले राष्ट्रपतिद्वारा देशका विभिन्न क्षेत्रमा रहेका प्रतिभाहरूलाई विभिन्न पदकहरूका माध्यमले सम्मान गरियो । तर के भयो भने पं. चेतराज आदि जस्ता व्यक्तिहरू त्यस कार्यक्रममा सम्मानित हुनु भएन । उहाँहरूलाई पदकद्वारा राष्ट्रले सम्मान गरेन । तर पदक त सरकारले उनै चेतराज कण्डेलका रचना चोरेर प्रचारबाजीमा लागेका त्यस्तै चाचावादीहरूलाई पो दियो । विल्लिले घाँटीमा पदक लगाएर आँटीमा बसेर गफ लगाउने भए भने सङ्गीतको क्षेत्रद्वारा देशको सेवामा ३० वर्षभन्दा पहिलेदेखि कुल्लीजस्तै गरी लागेका कलाकारहरू भने राज्यद्वारा अपमानित भएर दोस्रो दर्जाका नागरिक जस्तो भएर बस्नुपर्यो ।
नेपालमा पदक वितरण भइरहँदा त्यसै समयमा भारततिर पनि कुनै त्यहाँको दिवसलाई आधार मानेर पदक वितरण भइरहेको थियो । हुन त उता पनि चाचाहरूकै सम्मान गरिएको थियो भने यतातिर पनि चाचाहरूकै सम्मान गरिएको थियो । तर उता देशको सेवा गर्दागर्दै साँच्चै विद्या, बुद्धि या उमेरले चाचा हजूर बा बनेका राष्ट्रसेवक, कलाकार, साहित्यकार, विद्वान्, समाजसेवी आदि पदक सम्मान पाउने पङ्क्तिमा थिए भने यतातिर चाहिँ देशलाई खोक्रो पार्न सहयोग पु¥याएका चाचा (चाकडी, चाप्लुसी) हरूकै माहोल थियो ।
त्यसैले त्यता र यताको माहोल भने नितान्त रूपमा भिन्न नै थियो । उता सम्मान हुनेहरूको मुख हेर्दा उनीहरूलाई पुनः पुनः हेर्नका लागि हाम्रा आँखाहरू लालयित हुन्थे भने यता सम्मान हुनेहरूलाई देख्दा उही के गर्नेलाई भन्दा देख्नेलाई लाज भनेर आँखा चिम्म पार्न पर्ने भएको थियो । नेपालमा भइरहेको पदक वितरण कार्यक्रमलाई हेरेर एकजना दोहोरी गाउने कलाकारले हेर एउटा लाइभ दोहोरीमा आउन नसक्नेले पदक थाप्न लाज त मान्नुपर्ने । के गर्ने लाज हराएपछि कस्को के लाग्छ र ? उनको भनाई अनुसार त्यस्ताहरूले उनलाई पनि गीत लेख्न लगाउने अनि आफैले गाउने र विश्वको उत्कृष्ट गीत भनेर साली, साला आफन्तीहरूलाई सेयर गराएर फेसबुकमा सजाउने गर्दछन् रे ।
अन्टपन्ट जसो गरेर पनि प्रचारित भई ठूलो मान्छे हुनका लागि त्यस्ता मानिसहरूले गीत, भजन अरूबाट लेखाईरहन्छन् । पण्डित, ज्योतिषी, गायक, व्यास मात्र नभएर अब फेरि कविका रूपमा पनि आफुलाई देखाउने धेरैको धोको यस्तै कार्यले पूरा भएको छ । उनी जस्तैगरी लाजलाई राम्रैसँग पचाइसकेका मानिसहरूले यस्तै अर्काका गीत चोरेर किनेर पनि प्रख्याति कमाउने गर्दछन् । अझ अहिले त अर्को चलन नि आएछ कि कुनै सस्थालाई केही आर्थिक लाभ गराइदिने अनि उसलाई यसो कवि कलाकार आदि नाममा सम्मान दिलाउन भन्ने । त्यसैले पनि ज्योतिर्विद् नयराज पन्तले पनि त्यस्ता चोर विद्वान्हरूलाई यसरी भन्नुभएको छ –
अरूहरूका रचनाहरू कन
चोरेर मेरै कृति हो भनीकन ।
छपाउने काम जो गर्न जान्दछ
प्रकाण्ड अन्वेषक भै कमाउँछ ।।
त्यसैले भारततिर सम्मानित र यतातिर सम्मानित व्यक्तिहरूको तुलना गर्दा लाग्थ्यो साँच्चै नयाँ नेपाल बनाइएको त यस्तै सिल्लीविल्लीको सम्मान र कामगर्ने कुल्लीको अपमानको लागि पो रहेछ । त्यहाँ विशेष गरेर विगत एक दशकदेखि समाजमा रहेका यति राम्रा प्रतिभाहरूलाई सम्मान गर्ने गरेको छ कि हलधर आदिनाम गरेका उनीहरूलाई देख्दा नै शिर निहुरिन्छ । आँखाबाट आँशुका धाराहरू बग्न थाल्दछन् । हाम्रै नेपालमा पनि केही समय पहिलासम्म गरिएको पदकरूपी सम्मानको केही इज्जत थियो तर अहिले ती सम्मान भनेका खासै इज्जतिला नै बन्न छोडे ।
शैक्षिक उपाधिका आधारमा गरिएका सम्मानमा त्यस्तो खासै फरक नपरे तापनि देशमा योगदानका आधारमा गरिने सम्मानको इज्जत नै हुन छाड्यो । पूरा राजनीतिक भागवण्डाका आधारमा गरिने सम्मान आखिर लिनेले पनि यसो ससुराली र घरतिरकालाई देखाएर राख्ने खालका भए । त्यस खालको नक्कलीपनका सिल्लीहरूलाई सबक सिकाउनुपर्नेमा उनीहरूले पदक पाएका छन् भने काम गर्ने कुल्लीहरू भने त्यस्तै सिल्लीबिल्ली खेलाडीहरूका कारणले अपमानित भई बस्नुपरेको छ । देश रित्तिनुमा यो पनि एउटा कारण बनेको छ ।
अस्तु ।