© २०२३
यतिबेला देशका १५ जिल्लाभित्र ४७ वटा कपडा बैंक छन् । एक सय ६७ स्थानीय सरकारसँग कपडा बैंक राख्नेगरी सम्झौता भइसकेको कुरा कपडा बैंकका अध्यक्ष कमल जिसीले बताए । उनको लक्ष्य निकट भविष्यमै देशका एक हजार स्थानमा कपडा बैंक सञ्चालन गर्ने नै छ । शंकरनगर क्षेत्रमा उनले यतिबेला आफ्नो कार्यालय खोलेका छन् । फुर्सदको बेलामा उनी त्यतै भेटिन्छन् । नत्र देशका हरेक पालिकामा कपडा संकलन गर्न र वितरण गर्न पुगिरहेका हुन्छन् ।
प्रयोग गरिएका कपडा वा प्रयोगै नगरिएका कपडाहरुलाई राम्रोसँग व्यवस्थापन गर्न नसक्दा घर, टोल, समाजमा वातावरणीय प्रदूषण भइरहेका छन् । त्यतिमात्र होइन, झोला, टोपी लगायतका सामानहरुले समेत प्रदुषण बढाई रहेका छन् । सहर, बजारका नालीहरु बन्द गराइदिएका छन् । खेतीयोग्य जमिनमा पुगेर उत्पादकत्व घटाउने दुष्कर्म गरिरहेका छन् ।
गरिवीको रेखामुनि रहेका नेपाली नागरिकहरुले जाडोयाममा न्याना लुगा लगाउन पाएका छैनन् । त्यतिमात्र होइन, कतिपय मानिसहरुका फेर्ने लुगाहरु समेत छैनन् । अभावका आँसु पिएर जाडोयाममा कठाङ्ग्रिएर जीवन गुजारा चलाईरहेका मानिसहरुलाई कमलो मनका धनी कमलले देखेपछि कपडा बैंक खोल्ने योजना बुनेका थिए । उनलाई यो गतिलो योजनामा लाग्न र कर्मशील रहनका लागि महानायक राजेश हमालले हौस्याएका रहेछन् ।
मिल्ने, नमिल्ने तर आवश्यकता भन्दा बढी भएका लत्ताकपडा, झोला, पुस्तक, पुस्तिका संकलन गरी आवश्यक प्रशोधन गरी खाँचो भएका ब्यक्तिहरुसम्म पुराउने नौलो र सहयोगी अभियान नै कपडा बैंक हो । हुनेले दिने र नहुनेले लैजाने स्वयमसेवी कार्यक्रम नै कपडा बैंक हो । यस अभियानको मुख्य उद्देश्य नै गरीव, बेसहारा र प्राकृतिक प्रकोपबाट पीडित ब्यक्तिहरुलाई कपडाको अभावबाट छुटकारा दिनु र खेर गइरहेको बस्तुको उचित प्रयोग गरी देशको अर्थतन्त्रमा टेवा पुराउनु समेत हो ।
कपडा धेरै भएका ब्यक्ति र कपडा हुँदै नभएका वा एक सरोमात्र भएका ब्यक्तिहरुलाई जोड्ने काम नै कपडा बैंकले गर्दछ । आधुनिक शैलीका मानिसहरुले वर्षमा दर्जनौं जोर कपडा किन्ने गर्छन् तर उनीहरुलाई कपडा व्यवस्थापनको कठिनाई छ । कोहीभने एक छाक विहान खाएपछि साँझ के खाऔं भन्ने अवस्थाका छन् । कपडा किन्नु र लगाउनु उनीहरुको पहिलो प्राथमिकताभित्र पर्दैन । त्यसैले कपडा व्यवस्थापन गर्न कठिनाई भएका ब्यक्तिहरुसँग कपडा लिने र कपडा नै नभएका वा कम कपडा भएका ब्यक्तिहरुलाई लिएको कपडा प्रशोधन र व्यवस्थापन गरी दिने प्रभावकारी तथा मानवतावादी अभियान नै कपडा बैंक हो ।
कपडा बैंक स्थापनाका लागि हौसला दिने महानायक राजेश हमाल भन्छन्–देशका मुख्य सहरहरुमा प्रत्येक दिन कपडाको फोहोरमात्र २५ देखि ३७ हजार टन हुने गरेको छ । यसले वातावरणलाई प्रदूषित गराईराखेको छ । कपडा बैंकले यस्ता कपडाहरुलाई संकलन गर्दा पहिलो कुरो वातावरण संरक्षणमा योगदान पुग्यो भने दोस्रो कुरा प्रशोधन गरेर आवश्यक ब्यक्तिहरुलाई वितरण गर्दा मानवीय सेवा हुने भयो । त्यसैले सबै पालिकाहरुले कपडा बैंकको थालनी गर्न सम्भव भएमा राम्रो हुने थियो ।
कपडा बैंकका अभियन्ता कमल भन्छन्– मेरो रहरले होइन, खाँचो पर्ने मानिसहरुका आवश्यकतालाई पूरा गर्न कपडा बैंक खोलेको हुँ । यो नितान्त सामाजिक एवम् मानवीय सेवा हो । संकलन भएका कपडाहरुलाई आवश्यक प्रशोधन गरेरमात्र खाँचो परेका ब्यक्तिहरुलाई फर्म भरेर निःशुल्क बाँडिन्छ । यसमा स्थानीय सरकारको सक्दो सहयोग मिलेको छ तर कपडा बैंकका बारेमा बुझाउन भने कठिन छ । नेपालमै जन्मिएको हुँ । नेपालमै स्वयमसेवी काम गर्छु भनेर गतिशील भएर लागेको छु । कतिपयले राम्रो दृष्टिकोण राख्दैनन् । तर कपडा खाँचो परेका ब्यक्तिहरुलाई कपडा, झोला बाँड्न पाउँदा खुसी छु । उनले कपडा बैंक खोलेको पनि १५ महिना पुग्नै आँट्यो । कोशीदेखि कर्णालीका हुम्लासम्म उनी पुगिसकेका छन् कपडा बैंकमार्फत् कपडा बाँड्न । हुम्लीहरुका जाडो र कपडाका दर्दनात्मक सत्य घटना सुनाउँदै थिए उनले । सक्नेहरुसँग लिने र नसक्नेहरुलाई दिने उनको मन्त्र नै रहेछ । त्यसैले हुम्लीहरुलाई कपडा बाँड्न पाउँदा आफू अत्यन्तै खुसी भएको र उनीहरुको खुसीलाई कपडा बैंकले सम्पत्ति ठानेको बताए ।
कपडा बैंकमार्फत् देशभरि तीन सय कपडा पसल सञ्चालन गर्ने, त्यसबाट रोजगार सिर्जना गर्ने, खाँचो परेका ब्यक्तिहरुलाई निःशुल्क र तिर्न सक्नेसँग रकम संकलन गर्ने कमलको अभियानलाई धेरैले सहयोग गर्दैछन् । भविष्यमा खाना बैंक सञ्चालन गर्ने सपना साँचेका कमलले कपडा बैंकको सामाजिक सञ्जालमार्फत् प्रचारप्रसार गरिरहेका छन् । भविष्यमा पाँच लाख मानिसहरुलाई न्यानो तर निःशुल्क कपडा अनि एक लाख विद्यार्थीलाई भाग्य बोक्ने झोला वितरण गर्ने योजना बुनिरहेका छन् ।
थोत्रा कपडा र सेकेण्ड हेण्ड कपडा बाँड्यो कमलले भन्ने आरोप नलागेको पनि हैन उनलाई । तर उनी भन्छन्–संकलन गरिएका कपडाहरु प्रशोधन (धुलाई,सरसफाइ र चिटिक्क पार्ने काम) गरी खाँचोको आधारमा वितरण गरिएको छ । मैले पनि प्रशोधन गरेको पाइन्ट लगाएकै छु भनेर देखाउँदै थिए । समाजले उनलाई एकैपटक विश्वास नगर्न पनि सक्छन् । त्यसका लागि कमलको मिठासपूर्ण बोली, निरन्तरको सहयोगी भावना र गतिशील यात्रा रहेमा पक्कै पनि कमल र उनको क्लोथ एण्ड फूड बैंकको निस्वार्थी योजना सफल हुनेछ । बाँकी कमलको कर्मले नै बताउँदै जानेछ ।