© २०२३
दाङ, २१ असार ।
लुम्बिनी प्रदेश सरकारले खसीबोका पालक किसान र व्यावसायीलाई प्रोत्साहनका लागि अनुदान दिने गरेको छ । सोही कार्यक्रम अन्तर्गत धेरै किसान लाभान्बित भएका छन् । दाङको घोराही उपमहानगरपालिका –१४ का झग्गुप्रसाद बोहराले बिगत १७ वर्ष देखि घोराहीमा व्यावसायीक मासु पसल संचालन गरेकाछन् । चार वर्ष मलेसिया बसेका उनलाई स्वदेशमा केही गरौ भन्ने लागेर स्वदेशमा मासु पसल संचालन गरेको बताए । गाउँघरमा तयार भएका खसी, बोका खरिद गरि बजारमा मासु बिक्री गर्ने गरेको उनले बताए । उनले भने, म खसी बोकाको मासुमात्र बिक्री गर्छु छलकपट गर्दिन । दुई जना युवालाई रोजगारी दिएको उनले बताए । उनले दाङ रोल्पा, रुकुम,सल्यान र प्यूठानबाट खसीबोका खरिद गरेर दैनिक ७० देखि ८० किलो मासु बिक्री गर्नेगरेको बताए ।
कोरोना आउनुभन्दा पहिले व्यावसाय एकदमै राम्रो चलेको थियो कोरोनाका कारण व्यापार ठप्प भयो । मासुु व्यावसायलाई अनुदान कार्यक्रम अन्तर्गत चार वर्ष पहिले भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङबाट दुई लाख रुपैया अनुदान प्राप्त गरेपछि व्यावसायमा सहज भएको उनले बताए । विदेशी भूमिमा पसिना बगाउनुभन्दा आफ्नै माटोमा श्रम गरेमा छुटै आत्म सन्तुष्टी मिल्ने उनको भनाइ छ ।
लमही नगरपालिका ९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाका सदस्यले पालेका खसीबोका बिक्री गरेबापत प्रतिफलमा आधारित अनुदान पाएको सहकारीका अध्यक्ष देबीमाया थापाले बताए । उनले भने,यो वर्ष ६६ हजार ३ सय ४१ किलो खसीबोका ब्रिकी गरेबापत १६ लाख ५८ हजार ५ सय २५ रुपैयाँ पाएको हो । यस्तो कार्यक्रमले किसानलाई हौषला थपेको छ । घर खर्चका लागि दुईचारवटा खसीबोका पाल्ने किसानले व्यावसायीक रुपमा पाल्न थालेका छन् । किसानले पालेका खसीबोका सहकारीले खरिद गर्ने भएकाले किसानलाई थप हौषला मिलेको छ ।
गत आर्थिक वर्ष २०८०÷०८१ मा प्रतिफलमा आधारित अनुदानका लागि आठ वटा आवेदन दर्ता भएकोमा सात वटा छनोटमा परेका थिए । ज्यामिरे सामाजिक उद्यमी महिला सहकारी संस्थाले २८ हजार ६ सय २५ रुपैयाँ अनुदान पाएको छ । निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थाले २ लाख ६० हजार २ सय ९० रुपैयाँ अुनुदान पाएको हो भने गाउँवेशी सहकारी संस्था तुलसीपुर ४ लाख ७८ हजार ९ सय ७९ रुपैयाँ पाएको हो । सुधार सामाजिक उद्यमी महिला सहकारी संस्था घोराहीले १ लाख ४६ हजार ९ सय ४५ रुपैयाँ अनुदान पाएको हो भने दिपन सामाजिक उद्यमी महिला सहकारी संस्था लमहीले १ लाख ११ हजार १ सय ७३ दशलब ८ रुपैयाँ पाएको छ ।
सूचना अधिकारी न्यौपाका अनुसार सहकारीको माध्यमबाट बिक्री हुनेमा खसीबोका वार्षिक एक सय वटा र निजीबाट ब्रिकी ३० वटा कारोबार भएको हुनुपर्ने मापदण्ड रहेको छ । मासुको विवरण राखेर त्यसैको आधारमा कार्यालयले अनुदान दिने गरेको छ । कार्यालयले ज्यूँदो खसी बोकामा प्रतिकेजी २५ रुपैयाँ अनुदान दिदै आएको छ । खासगरी वास्तविक किसानलाई प्रोत्सहान र सहयोग पु¥याउन सहकारी तथा फर्ममार्फत किसानकै खातामा पैसा जाने गरेको उनले बताए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङमा आर्थिक वर्ष २०८१÷०८२ मा फिल्ड भेरिफिकेशन तथा मूल्यांकन समितिबाट स्वीकृत भएका खसीबोकाको मासुतर्फ पाँच सय ६८ किसानलाई १३ लाख नौ हजार ३७ रुपैयाँ ९० पैसा वितरण गरिसकिएको उनले जानकारी दिए ।