© २०२३
तिलोत्तमा, २० असार ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका महिलामैत्री शहर बन्ने भएको छ । युनाइटेड नेशन अफिसर फर प्रोजेक्ट सर्भिसेस (युएनओपिएस) र तिलोत्तमा नगरपालिकाको सहकार्यमा महिलामैत्री शहर बनाउने कार्यको थालनी गरिएको हो ।
युनाइटेड नेशन अफिसर फर प्रोजेक्ट सर्भिसेसद्वारा संचालित महिलामैत्री शहर परियोजना चालु आर्थिक वर्ष २०८१ माघ महिनादेखि कार्यान्वयन गरिएको युएनओपिएसका तिलोत्तमा नगरपालिका परियोजना संयोजक मनिषा कार्कीले जानकारी दिईन् ।
महिलामैत्री शहर परियोजना सन २०२५ फेब्रुअरी देखि सन २०२७ सेप्टेम्बर सम्म साढे दुई वर्ष संचालन हुनेछ । नगरपालिकाभित्रको खुला क्षेत्रलाई व्यवस्थित गर्दै लक्षित वर्गमैत्री शहरको रुपमा रुपान्तरण गर्नु महिलामैत्री शहर परियोजनाको उद्देश्य रहेको परियोजना संयोजक मनिषा कार्कीले बताइन् ।
संयोजक कार्कीका अनुसार परियोजनाको नाम महिलामैत्री शहर भएपनि यस अन्र्तगत रहेर बालमैत्री, अपांगतामैत्री, ज्येष्ठ नागरिकमैत्री नगरका रुपमा तिलोत्तमा नगरपालिकालाई विकसित गर्ने परियोजनाको लक्ष्य रहेको छ ।
अहिले तिलोत्तमा नगरपालिकाको वडा नम्बर ४ सिमानगरको हाटबजारमा व्यवस्थित स्टलहरु बन्दैछन् । जहाँ नगरभित्रका महिला उद्यमीहरुले उत्पादन गरेका सामग्री विक्रि वितरण गर्नेछन् ।
यसैगरी तिलोत्तमा नगरपालिका वडा नम्बर ९ स्थित सम्झना युवा क्लवसंगको सहकार्यमा बाल उद्यान निर्माण हुँदैछ, बाँकी रहेका वडाहरुमा क्रमशः काम हँुदै जानेछ । “हाटबजार, बाल उद्यान र ज्येष्ठ नागरिक चौतारोको परिकल्पना गर्दै शुरुवात गरिएको परियोजना सम्पन्न हुने समय सम्म नगरभित्रका महिला उद्यमी, बालबालिका, अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकको मन विसाउने चौतारीसंगै आर्थिक रुपान्तरणमा फड्को मार्ने छ”–परियोजना संयोजक कार्कीले भनिन् ।
महिलामैत्री परियोजनासंग जोडिएपछि व्यावसायिक व्यवस्थापनमा थप सहयोग मिलेको बताउँछिन् तिलोत्तमा नगरपालिका वडा नम्बर ४ की नीमकला खाण । विगत लामो समयदेखि पालिकाभित्र रहेका विभिन्न हाट बजारमा चिया नास्ता पसल संचालन गर्दै आएकी नीमकलाले पानी परेपछि पोको बोकेर ओत खोज्दै हिड्नुपर्ने वाध्यता अवदेखि हट्ने भयो भन्दै खुशी व्यक्त गरिन् । अहिले स्टलहरु वन्दैछन्, निर्माण भईसकेपछि घाम , पानी हावाहुरी सबै तनावबाट मुक्त हुने भयो । खाजा पसल भएका कारण सरसफाई, व्यावसायिक सुरक्षा, बजारीकरण, लगानी, बचत लगायतका विषयमा शिक्षित हुने अवसर पाएपछि अहिले ढुक्कसंग व्यवसाय गर्न सक्ने भएकी छु । अव नगरपालिकाको संरक्षकमा व्यवसाय संचालन गर्दा सुरक्षा र दिगोपना पनि हुने उद्यमी महिला खाणले विश्वास व्यक्त गरिन् ।
तिलोत्तमा ४ कै शान्ती गाहाले पनि हाट बजारमा पाल्पाली कन्दमूल बिक्रि गर्दै आएकी छन् । उनले पाल्पाका विभिन्न गाउँमा रहेर महिलाहरुले उत्पादन गरेका पिडालु, तरुल, बेसार, डल्ले खुर्सानी, टिमुर, स्कूसको जरा लगायतका सामग्री खरिद गरेर महिलाहरुको उत्पादनलाई बजारीकरणको व्यवस्थापन गरेकी छन् । दिनहँुको हाटबजार, घाम, पानी कहिलेकाँही त खरिद गरेर ल्याएको सामान पानीले भिजेर सबै व्यापार घाटामा जान्थ्यो । “अव यो समस्या हट्ने भयो अत्यन्तै खुशी लागेको छ”–गाहाले भनिन् । यति मात्र कहाँ हो र भन्दै उनी थप्छिन्, “हामी अहिले समूहमा वसेर व्यावसायिक व्यवस्थापन, बजारीकरण र सुरक्षाका लागि योजना बनाउने काम पनि सामूहिक रुपमा गर्ने गरेका छौ ।
महिलामैत्री शहर परियोजनामा युनाइटेड नेशन अफिसर फर प्रोजेक्ट सर्भिसेस (युएनओपिएस) को ७० प्रतिशत र तिलोत्तमा नगरपालिकाको ३० प्रतिशत लागत साझेदारी रहने गरी परियोजना सम्झौता गरिएको नगर प्रमुख रामकृष्ण खाणले बताए । परियोजना अन्तर्गत प्राप्त रकम दुई करोड ५० लाख रुपैयाँ हो, यसलाई ७० प्रतिशत मानिएको छ र नगरपालिकाले ३० प्रतिशत रकम थप गरी १०० प्रतिशत लागत खर्च सहितको योजना बनाईएको छ ।
नगर प्रमुख खाणका अनुसार तिलोत्तमा नगरपालिकाले यस परियोजना सम्पन्न गर्न आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि नीति तथा कार्यक्रमा योजना पारेर बजेट सम्म विनियोजन गरेको छ । नगर प्रमुख खाण भन्छन् ः जवसम्म नगरभित्रका महिलाहरु आर्थिकरुपमा समुन्नत हुँदैनन् तवसम्म समृद्ध पालिका बनाउने सपना साकार हुँदैन । यसर्थ तिलोत्तमा नगरपालिकाले महिलाहरुलाई सिप सिकाउने, उद्यमसंग जोड्ने, उत्पादनका लागि महिला समूह गठन गरी अनुदान दिने जस्ता कार्यमा हामीले विशेष जोड दिएका छौ ।”
“युएनओपिएसले नगरपालिकाभित्र रहेका खुला हाटवजारमा स्टल निर्माण गर्ने कार्यमा आफने लगानी गरेको छ भने हामीले तिलोत्तमा नगरपालिकाको तर्फबाट महिलालाई ज्ञान, सिप, व्यावसायिक शिक्षा दिदै उद्यमी बनाउनेतर्फ लगानी गरेका छौ”– नगर प्रमुख खाणले भने ।
महिलाहरुलाई सिपमूलक तालिम दिदैँ गर्दा उनीहरुले उत्पादन गरेको सामग्री बिक्रि वितरण गर्ने स्थानको रुपमा हाट बजारका स्टल । नगरभित्र उमेर पुगेका बुवाआमाहरु जो काम गर्न सक्नुहुँदैन उहाँहरुको दिनचर्या विताउने स्थल, जहाँ मन फुकाएर आफ्ना अनुभव सुन्न र सुनाउन पाउनुहुन्छ त्यस्तो थलोको रुपमा ज्येष्ठ नागरिक चौतारो निर्माण गरिएको छ । यस्तै बालबालिकाहरु विद्यालय बिदा वा विहान साँझको समयमा खेल्ने रमाउने स्थानका रुपमा बाल उद्यान निर्माण गरिएको हो ।
महिलाले वस्तु उत्पादन गर्नुभएको छ त्यसको बजारीकरण कहाँ गर्ने भन्ने मुख्य चुनौतीको विषय हो । यसको व्यवस्थापन गर्दिनु स्थानीय पालिकाको दायित्व हो । महिलाहरुले मात्रै उत्पादन गरेको वस्तुलाई एकै थलोबाट बिक्रि वितरण गर्ने वातावरण सृजना भयो भने महिला उद्यमीहरुलाई आफ्नो कामप्रति थप हौसला मिल्ने छ । उहाँहरुको लगाव उद्यममै केन्द्रित रहिँ दिगोपनाका लागि समेत सहयोग पुग्ने र अन्य महिलाहरुलाई समेत सिप सिक्दै उद्यममा लाग्न प्रेरित गर्नेछ भन्ने उद्देश्यले महिलामैत्री शहर परियोजनामा तिलोत्तमा नगरपालिकाले लगानी गरेको नगरप्रमुख खाणले बताए ।