Butwal Today

पार्टीले भने पद छाड्न तयार छु : रामहरि खतिवडा

२० असार २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आवश्यक परेमा सभापति पदबाट राजीनामा दिन आफू तयार रहेको बताएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खतिवडाले शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा यस्तो धारणा सार्वजनिक गरेका हुन्।

खतिवडा विवादमा तानिनुको कारण बनेको हो — ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’। उक्त विधेयकको दफा ८२ मा रहेको कुलिङ पिरियडसम्बन्धी प्रावधान समितिबाट पास हुँदा केही फरक देखिएको आरोप लागेपछि उनी विवादमा आएका हुन्।

यो विषयमा कांग्रेस तथा सत्तारुढ दल एमालेका सांसदहरूले समेत खतिवडाको राजीनामा माग गरेका छन्। ती आलोचनाप्रति प्रतिक्रिया दिँदै खतिवडाले भने,
“सभापतिको हैसियतमा मेरो पनि छ गल्ती छ भनेर पार्टीले बाहिर बस भन्न निर्देशन दियो भने म बाहिर बस्न तयार छु।” उनको भनाइले, विवादले थप गहिरिने कि सामसुम हुने भन्ने विषयमा अब पार्टी नेतृत्वको निर्णय महत्त्वपूर्ण हुने देखिएको छ।