© २०२३
तिलोत्तमा, २० असार ।
तिलोत्तमा नगरपालिका वडा नम्वर ३ की भोजकुमारी खनाल, बोलाउने नाम (गौरी) शारीरिक रुपमा अपङ्खता भएकी व्यक्ति हुन् । केही न केही गरिरहन मन पर्ने गौरीको सामान्य पान पसल छ । उनलाई पान पसलले मात्र परिवार चलाउन समस्या थियो । ०८१ बैशाखमा तिलोत्तमा नगरपालिकाले दिएको जुत्ता चप्पल बनाउने तालिमको १० दिने आधारभूत कोर्ष पूरा गरेपछि लगत्तै सुरु भएको एक महिने एडभान्स तालिमले गौरी प्रशिक्षार्थीबाट प्रशिक्षक बनिन् ।
अहिले प्रशिक्षकका रुपमा तिलोत्तमा देखि दाङ्ख, ईमिलिया, गोरुसिंगे, गुल्मी, अर्घाखाँचीका विभिन्न स्थान, हरैया, बुटवल लगायत ११ ठाउँमा पुगेकी छन् । “धेरै ठाउँमा गएँ, रमाइलो लागेको छ, परिवार पाल्न धौ धौ भएको थियो, अहिले सहज भएको छ”–गौरीले सुनाइन् ।” उनका श्रीमान गंगाधर आचार्य पनि अपांगता भएका व्यक्ति हुन् । गौरीले गरेको काम हेरेर उनका श्रीमान् पनि दङ्ख छन् भने परिवारको साथ पाउँदा गौरीलाई काम गर्न थप हौँसला मिलेको छ । जस्तो अवस्थामा पनि ईच्छाशक्तिलाई गुमाउन नहुने उनले बताइन् । काम गर्दै जाँदा समाजले हेर्ने दृष्टिकोलले पनि काम गर्ने हुटहुटीलाई जगाई राख्ने उनको बुझाई छ । एक वर्षमा १४ वटा प्रशिक्षणमा प्रशिक्षकको रुपमा सहभागी भएको उनी बताउँछिन् ।
तिलोत्तमा–३ कै कमला क्षेत्रीलाई पनि लामो समय घरभित्रको काममा व्यस्त थिइन् । मेडपाले दिएको ३ महिने तालिम लिएपछि व्युटीसियनका रुपमा अगाडि बढ्दै छन् । उनको अहिले घर नजिकै व्युटी पार्लर छ । सामान्य खर्चको लागि पनि माग्न पर्ने बाध्यता टरेकोमा दङ्ग छन् ।
त्यस्तै तिलोत्तमा–६ मा २०७९ सालमा सर्फ बनाउने तालिमबाट उद्यमी बनेका टोपली पाण्डे सहित ६ जना दिदीबहिनीले दैनिक ३ क्वीण्टल सर्फ उत्पादन गर्छन् । एउटै तालिममा सहभागी दिदीबहिनीको एउटा समूह बन्यो र सर्फ बनाउने उद्योग सञ्चालन गरे । पहिले हातले बनाउँदा दैनिक ५० किलो सर्फसम्म उत्पादन गर्थे । तर अहिले वडा नम्वर ६ ले सर्फ बनाउने मेसिन दिएपछि ३ क्वीण्टल सर्फ उत्पादन गर्ने गरेको टोपली पाण्डेले बताइन् । उनीहरु भन्छन्–“७ दिने तालिमबाट उद्यमी नै बन्न सकिएला भन्ने लागेको थिएन, इच्छा भए र समूहमा गरे नहुने भन्ने नहुने रहेछ, एउटाले नजानेको अर्कोले सिकाउँछौँ निकै सजिलो भएको छ ।”
सिमा नाकाका कारण अलिकति व्यापारमा चुनौती भएको टोपलीको भनाई छ । हाम्रो उत्पादनलाई अझै विश्वास नगरेर सुनौली पुग्ने समस्यालाई हटाउन सके मनग्य आम्दानी गर्न सकिने उनले सुनाइन् । उनीहरुले अहिले ४ देखि ५ लाख सम्म आम्दानी गर्छन् । “म त बरु यो भन्दा अगाडि पनि व्यवसायमा थिएँ, अरु ५ जना त घरमा मात्र सीमित हुनुन्थ्यो राम्रो भएको छ । बाहिरी दुनिया बुझ्दै खर्च चलाएका छौँ”–टोपलीले भनिन् । महिलाहरुले तिलोत्तमा नगरपालिकालाई धन्यवाद् समेत दिएका छन् । उनीहरुले सर्फ बनाउँछन् र पसल पसल घरघरमा पुर्याउँछन् । यो संगै समूह नै ठाउँठाउँमा प्रशिक्षकको रुपमा पुग्ने गरेका छन् । यो समूहबाट पनि २ समूहले सर्फ बनाउने उद्यम संचालन गरेका छन् ।
तिलोत्तमा नगरपालिकाले तालिमका लागि तालिम नगरेर तालिम लिएपछि केही न केही गर्नुपर्ने बाध्यता छ । केही गर्ने हुटहुटी नभएकालाई सकेसम्म तालिममा सहभागी नगराउने गरेको सामाजिक विकास अन्तर्गत वरिष्ठ उद्यम विकास सहजकर्ता शान्ती विक बताउँछिन् ।
यो बाहेक (चार पांग्रे ई रिक्सा चलाउने तालिम सिलाईकटाई, फेसन डिजाईन्, मकैको पोस्करबाट ढकिया, जस्ता तालिमबाट तिलोत्तमा नगरपालिकाले थुप्रै महिलाहरुलाई स्वरोजगार बनाएको छ । विभिन्न विषयमा तालिम संचालन मात्र गर्नु ठुलो कुरा नभएको भन्दै दीर्घकालिन रुपमा प्रतिफल दिने गरी नगरपालिकाले स्वरोजगारमूलक तालिमहरु सञ्चालन गर्दै आइरहेको उपप्रमुख चौधरीले सुनाइन् । तालिम संचालन मात्र होईन धरै नै महिलाहरु स्वरोजगार पनि भएका छन् । “सामान्य तालिम दिएर अलपत्र छाड्दैनौँ पुरै कोर्ष दिंदा प्रभावकारी हुन्छ भन्नेमा हामी सचेत छौँ र असाध्यै प्रभावकारी पनि भएको छ”–उनले भनिन् । नगरपालिकाले आधारभूत कोर्ष लिएकाको लागि स्वरोजगार हुन चाहने व्यक्तिलाई नै एडभान्स तालिममा सहभागी गराउने नगरपालिकाको नीति रहेकोले सोही अनुसार नै संचालन गर्दै आइएको तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरी बताउँछिन्।
उनका अनुसार धेरै भन्दा धेरै महिला उद्यमी उत्पादन गर्ने र स्वरोजगार बनाउने नगरपालिकाको आगामी योजना रहेको छ । वजारको माग अनुसार तालिम चलाउने र व्यवसायी उत्पादन गर्ने नगरपालिकाले नीति लिएको उनले बताइन् ।