© २०२३
चन्द्रौटा(कपिलवस्तु), २० असार ।
पूर्व महिला तथा वातावरण मन्त्री सुरेन्द्रराज आचार्यले स्थानीय सरकारको क्रियाशीलता नै परिवर्तनको मेरुदण्ड रहेको बताएका छन् । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर २ द्वारा शुक्रवार आयोजित बालमैत्री वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
बालबालिकाको भविष्य सुरक्षित गर्न सबै तहको सहकार्य अपरिहार्य हुने उनले बताए । बालबालिको अधिकारलाई केन्द्रमा राखी बालमैत्री वडा घोषण हुनु सकरात्मक पाटो रहेको उल्लेख गरे । बालबालिकाको अधिकार संरक्षण र समुचित विकास सुनिश्चित गर्न सबै तहका निकायले हातेमालो गर्नुपर्नेमा उनले जोडदिए । आचार्यले भने ः “स्थानीय तह क्रियाशील भएन भने योजना मात्र कागजमा सीमित हुन्छ । परिवर्तनको मेरुदण्ड भनेकै सक्रिय, संवेदनशील र उत्तरदायी स्थानीय सरकार हो ।”
यसैबीच नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले बालमैत्री वडा घोषणापत्र सार्वजनिक गर्दै बालश्रम, हिंसा र विभेदका विरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयनमा सामूहिक ध्यान दिनुपर्नेमा जोड दिइन् । यस्तै बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ सुचक पुरा गरेपछि बालमैत्री वडा घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बताए । बालमैत्री वडा निर्माणको लागि वडाले सबै सुचक तथा मापदण्ड पूरा गरेकोले वडा नम्बर २ लाई बालमैत्री घोषणा गरिएको उनले बताए । पुर्व नगर प्रमुख नेत्रराज अधिकारीले यस अभियानको एउटा महत्वपूर्ण उपलब्धि रहेकोले जिम्मेवारी त्यसलाई अझ मजबुत बनाउँदै अघि बढ्नु पर्ने जनाए ।
वडास्तरसंगै, नगर र विभिन्न संघ सस्थाको सन्वयमा वडाले ५१ वटा सुचकलाई पार गर्दै बालमैत्री वडा घोषणा गर्न सफल भएको वडाध्यक्ष राम बहादुर चौधरीले बताए । बालमैत्री आचारसंहितालाई अबलम्बन गर्दै शिक्षा, स्वास्थ्य, पोषण, सिर्जनशीलता र संरक्षणका सवालमा विशेष प्राथमिकता राखेर प्राप्त सुचकको आधारमा वडालाई बालमैत्री वडा घोषणा गरेको बताए ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष खिम विक्रम केसी, वडा ५ का अध्यक्ष नेत्र बेल्वासे, मानवअधिकारकर्मी विष्णुप्रसाद खतिवडा, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डे, नेपाली कांग्रेसका जिल्ला उप सभापति हुमकान्त खनाल लगायत बाल क्लब र अन्य सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा वडा नम्बर २ लाई बालमैत्री वडा घोषणा गरिएको हो ।