© २०२३
अन्तर्राष्ट्रिय रुपमै गरिएको पछिल्लो अध्ययनले महिलामाथि हुने यौनजन्य हिंसाका घटना नेपालमा मात्रै होइन, विश्व भरी बढेको देखाएको छ । त्यसमाथि बालिकामाथि हुने जघन्य प्रकारको बलात्कारका घटनाले सीमा नाघेको रिपोर्टमा उल्लेख छ । रिपोर्टमा उल्लेख गरिएजस्तै केही दिनअघि नेपालको सिन्धुपाल्चोकमा भएको बालिकाको सामूहिक बलात्कार र त्यसपछिको क्रूर हत्याको घटनाले नेपालीहरू पनि यति हिंस्रक भैसकेका छन् भन्ने कुरा कल्पनासमेत गर्न नसकिने घटना सार्वजनिक भएको छ ।
इन्सेकले सार्वजनिक गरेको रिपोर्टमा पनि पछिल्लो समय महिलामाथिको ज्यादति सहनै नसक्ने गरि बढेको देखाएको छ । चाहे त्यो बलात्कारको घटना किन नहोस या अनेक नाममा हुने हत्या, हिंसा, अपराध, दुव्र्यवहार, अपेहलनाका घटना नै किन नहुन । महिलामाथिको बर्बरताले आम नेपालीलाई पीडाबोध गराएको छ । गत बर्षको रिपोर्ट नै हेर्ने हो भने पनि यही रुपन्देहीमा बालबालिका सम्बन्धी बलात्कारका घटना २६, यौन दुव्र्यवहारका ६, महिला सम्बन्धी जबर्जस्ती बलात्कारका घटना ८ र बलात्कार प्रयास गरिएका ७ घटना सार्वजनिक भएको थियो ।
त्यसैगरी मानव बेचविखन तथा ओसार पसारका ५ वटा, पारिवारीक हत्याका ४ वटा, बालिका हत्या १, अपहरण तथा शरीर बन्धक १, बहुविवाह ८, जवरजस्ती गर्भपतन १ र घरेलु हिंसाबाट २ सय ६४ जना पीडित रहेको इन्सेकले एक बर्षअघि जारी गरेको तथ्याँकमा उल्लेख थियो । यो घटनाको फेहरिस्त अहिले त्यो भन्दा बढेको देखिएको छ । यस प्रकारका घटना नियन्त्रण गर्न राज्यका सबै निकाय र सरोकारवालाहरुलाई जवाफदेही र उत्तरदायी बनाउनुपर्ने आवश्यकता छ । यसमा राज्यको दायित्व झनै अपेक्षित रहेको छ । तर, सरकारले पनि यी रिपोर्टमाथि सामान्य प्रतिकृया जनाउनुबाहेक नियन्त्रणका लागि खासै काम गरेको सुन्न र देख्न नपाईनु विडम्वना हो ।
नेपालमा त्यसैपनि गरिबी, अशिक्षा, अज्ञानता र अन्धविश्वासका कारण नेपाली महिलामाथि बर्षौदेखि थिचोमिचो र अपेहलना हुँदै आएको छ । त्यसमाथि नेपाली समाजको मनोविज्ञान समेत तल्लो तहको छ । यो हामी सवै नेपालीले बुझेको र भोगेकै कुरा हो । जसको प्रत्यक्ष प्रभाव सिमान्तकृत महिलाहरु विवस र निरिह जीवन बाँच्न बाध्य भएका छन् । महिलामाथि घरेलु हिंसाको चरम यातना त छँदैछ, त्यसका साथै बलात्कार, अपहरण र हत्याको मारमा महिलाहरु पर्दै गएका छन् । यो विश्वव्यापी समस्या हो ।
नेपालमा यो समस्या अझै धेरै छ भन्दा अत्युक्ति हुँदैन । अझै मधेशमा त महिलामाथिको हिंसा डरलाग्दो छ । दाइजो नल्याएको निहुँमा जिउँदै जलाउने, छोरी जन्माएको निहुँमा, आफ्नो श्रीमानद्वारा बहु–विवाह गरी यातना दिनेलगायत बोक्सीको नाउँमा महिलालाई थप प्रताडित गर्ने काम हुने गरेको छ । पछिल्लो समय बालिकामाथि जुन प्रकारको विभेद, बलात्कारजन्य घटना भएका छन्, त्यसले नेपालीको शीर निहुराएको छ । अहिलेको नेपाली समाज उग्र, मानवीय समवेदनाविहीन वन्दै गएको हो कि भन्ने सोच्न बाध्य बनाएको छ ।
मधेशमा दाइजो नल्याएको निहुँलाई आधार बनाएर महिलालाई जिउँदै जलाउने मार्ने जस्ता घटनाहरु त सामान्य भइसकेका छन् । प्रेम विवाह गरेर घर भित्राएकी श्रीमतिलाई दाईजो ल्याउन दवाव दिनेसम्मका अति निच काम सुन्नमा आईरहेका छन् । यसले नेपाली समाजको उदांगो रुप प्रकट गरेको छ । नेपाल सरकारले महिलामाथि हुने घरेलु हिंसा रोक्न खासै पहल गरेको छैन । यसले आम जनमानसमा चिन्ता थपिएको छ । अवका दिनमा महिलालाई अधिकार सम्पन्न बनाउने नाराहरु मात्र हैन योजनाको आवश्यकता छ ।
महिलामाथि भैरहेको विभेदको जुन पछिल्लो रिपोर्ट आएको छ, त्यसले नेपालको अवस्था अत्यन्त चिन्ताजनक देखाएको छ । अवको दिनमा यस प्रकारका घटना नियन्त्रण गर्न चानचुने योजना र प्रतिवद्धताले मात्रै हुँदैन, दह्रो अभियानको खाँचो छ । संघीय सरकार, प्रदेश र पालिकाहरुले समेत महिलामाथि हुने यस प्रकारका हिंसाजन्य घटना नियन्त्रणमा ध्यान दिनु जरुरी छ ।