© 2026
काठमाडौँ ।
पूर्वमन्त्री बद्री न्यौपानेविरुद्ध दायर भ्रष्टाचार मुद्दामा आज (शुक्रबार) सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको हो।
यसअघि विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दामा न्यौपानेलाई दोषी ठहर गर्दै ९ वर्ष कैद सजाय र २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ जरिवाना तोकेको थियो। साथै, सोही रकम बराबरको बिगो असुल गर्ने आदेश पनि अदालतले दिएको थियो।
न्यौपाने महिला, बालबालिका तथा समाज कल्याणमन्त्री रहेका बेला भृकुटीमण्डपस्थित फन पार्क सस्तो दरमा भाडामा दिने प्रक्रियामा भ्रष्टाचार भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो।
न्यौपानेसँगै सो मुद्दामा कांग्रेसका पूर्वमन्त्री टेकबहादुर गुरुङ, समाज कल्याण परिषदका तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरी लगायत पनि संलग्न छन्।
विशेष अदालतको फैसलाप्रति दुवै पक्ष असन्तुष्ट भई सर्वोच्चमा पुनरावेदन लिएर गएका हुन्। आजको सुनुवाइले मुद्दाको थप कानुनी दिशाबारे संकेत दिने अपेक्षा गरिएको छ। यो मुद्दा सर्वोच्च अदालतमा पहिलोपटक सुनुवाइमा आएको हो।