काठमाडौं ।
चालु आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा वित्तीय प्रणालीमा अत्यधिक तरलता देखा परेको छ। असार महिनामा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुलीमा सुधार गरेपछि केन्द्रीय बैंकमा पैसा थुप्रिने क्रम झनै तीव्र भएको हो।
बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाहरूले ५ खर्ब २० अर्ब रुपैयाँ नेपाल राष्ट्र बैंकमा राखेका छन्। यसमध्ये ३ खर्ब १० अर्ब दीर्घकालीन निक्षेप संकलन र २ खर्ब १० अर्ब स्थायी निक्षेप सुविधा मार्फत राखिएको छ।



केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि बैंकहरूलाई ३ प्रतिशत ब्याज दरमा पैसा राख्न अनुमति दिन्छ। तर, कर्जा विस्तार अपेक्षाअनुसार नभएकोले बैंकहरूले रिकभरीबाट आएको रकम केन्द्रीय बैंकमै राख्न थालेका छन्। राष्ट्र बैंकका अनुसार चालु आवमा निजी क्षेत्रतर्फको कर्जा विस्तार वैशाखसम्म ८.४ प्रतिशत मात्र भएको छ, जबकि मौद्रिक नीतिले १२.५ प्रतिशतको प्रक्षेपण गरेको थियो।
गत आवको अन्त्यमा ३ खर्ब ५५ अर्ब मात्रै केन्द्रीय बैंकमा राखिएकोमा, यस वर्ष असार सकिन दुई हप्ता बाँकी रहँदै ५ खर्ब नाघिसकेको छ। यो तथ्यले यसपटक तरलताको मात्रा अभूतपूर्व स्तरमा पुगेको देखाउँछ।
राष्ट्र बैंकका अधिकारीहरू भन्छन् — बैंक तथा वित्तीय संस्थाहरूले अब वासलात बलियो बनाउन कर्जा असुलीमा जोड दिइरहेका छन्। रिकभरी बढेपछि खराब कर्जा र निष्क्रिय कर्जा घट्ने भएकाले यो रणनीति लिइएको हो। साथै, मौद्रिक नीतिको कठोरताले नयाँ कर्जा प्रवाहमा दबाब परेको छ।
यसरी जम्मा गरिएको तरलता राष्ट्र बैंकले कम्तीमा दुई महिनासम्म नछोड्ने भएकाले साउन महिनामा पनि कर्जा लगानी बढ्ने सम्भावना न्यून रहेको देखिन्छ।
केन्द्रीय बैंकका अर्का एक अधिकारीका अनुसार, आर्थिक सूचकहरूमा केही सुधार देखिए तापनि तरलताको समस्याबाट वित्तीय प्रणाली तत्काल मुक्त हुने सम्भावना छैन। अर्थतन्त्रमा गति नआएसम्म तरलता व्यवस्थापन चुनौतीपूर्ण हुने उनको भनाइ छ।
बैंकहरूले पनि असारको तेस्रो सातासम्म १० प्रतिशतसम्म कर्जा असुलीमा सुधार हुने अनुमान गरेका छन्। यस्ता सुधारहरूले नगद प्रवाह र आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।