© २०२३
काठमाडौं ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको दुम्कीबासस्थित विनयी खोलामा नव निर्मित पक्की पुल आजदेखि सञ्चालनमा आएको छ। कालोपत्रे सम्पन्न भएपछि गाडी सञ्चालनका लागि तयारी पूरा भएको जानकारी नारायणगढ–बुटवल सडक आयोजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर ईश्वरबहादुर रिजालले दिएका छन्।
नयाँ पुलबाट अधिकतम ४० टन भारवाहक सवारीसाधन मात्र सञ्चालन गर्न पाइनेछ। पुल सञ्चालनमा आएसँगै विनयी खोलामा अस्थायी डाइभर्सन बनाएर जोखिम मोलेर गाडी चलाउनु पर्ने बाध्यता अन्त्य भएको छ।
गत पुस २६ गते भारतीय ट्रकको ठक्करबाट पुरानो पुल भत्किएपछि डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको थियो। मालबाहक सवारी डाइभर्सनमार्फत मात्र गन्तव्य पुग्नुपर्ने बाध्यता रहेको र पटक–पटक डाइभर्सन बगाउँदा समस्या झेल्नु परेको थियो। यही असार ६ गते यात्रुबाहक बस फसेर ३८ यात्रुको उद्धार गर्नुपरेको थियो।
पुल निर्माणपछि सवारी सहज भए पनि दाउन्ने क्षेत्रको सडक विस्तार कार्य अझै पूर्ण भएको छैन। बर्दघाटदेखि दुम्कीबासबीचको १४ किलोमिटर सडकखण्डमा बर्दघाटतर्फको तीन किलोमिटर खण्डमा मात्रै कालोपत्र सम्पन्न भएको छ। यात्रुहरूका लागि अझै केही समय कठिनाइ कायम रहने देखिन्छ।