काठमाडौं, १९ असार।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। बिहीबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त अभियानसँगै पार्टी सुदृढीकरणका लागि विविध निर्णयहरू पनि गरेको छ।

बैठकले असोज मसान्तसम्म सम्पन्न गर्नुपर्ने जिल्ला अधिवेशनहरूलाई तीव्रता दिन ७७ वटै जिल्लामा केन्द्रीय पर्यवेक्षक खटाउने निर्णय गरेको छ। अधिवेशन तयारीमा मुख्य नेताहरू पनि प्रत्यक्ष रूपमा संलग्न हुने बताइएको छ।
यसैगरी, रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनलाई लक्षित गर्दै तयारी थाल्ने निर्णय पनि भएको छ। जिल्ला कार्यसमितिलाई सम्भावित उम्मेदवारहरूको प्रारम्भिक सूची सिफारिस गर्न निर्देशन दिइएको छ। साथै, उपाध्यक्ष ध्रुवबहादुर प्रधानको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ।
बैठकले भिजिट भिसा प्रकरण र संघीय निजामती सेवा विधेयकमा भइरहेको राजनीतिक चलखेलप्रति पार्टीको स्पष्ट धारणा बनाउने निर्णय पनि गरेको छ। राप्रपाले यी विषयमा सार्वजनिक रूपमा आफ्नो मत प्रकट गर्ने तयारी गरेको छ।




