Butwal Today

रामकुमारी झाँक्री भन्छिन् – “स्पष्टीकरणको कुरा मिडियाको हल्ला मात्र”

१९ असार २०८२, बिहीबार
अ+
अ-

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)की नेता रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै आफूलाई स्पष्टीकरण सोधिएको भन्ने हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेकी छन्।

बुधवार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीभित्रका केही पदाधिकारीले टेलिभिजन र मिडियामार्फत यस्तो हल्ला फैलाएको आरोप लगाइन्। “केही शक्तिशाली पदाधिकारीहरूले मिडियामा स्पष्टीकरण सोधिएको भनेका छन्, तर मलाई पार्टीबाट कुनै पत्र आएको छैन,” झाँक्रीले भनिन्।

उनका अनुसार असार १५ गते पार्टीले कुनै प्रतिक्रिया नजनाउन निर्देशन दिएको थियो। “त्यसपछि उहाँहरूलाई प्रोत्साहन भएको जस्तो देखिन्छ,” उनले भनिन्। पार्टीलाई कुनै प्रकारको घाटा नपरोस् भन्ने हेतुले आफू सचिवालय बैठकमै उपस्थित भएर स्पष्ट गर्न तयार रहेको झाँक्रीले बताइन्।

पछिल्लो समय बुटवलमा आयोजित पार्टी निकट युवा संगठनको कार्यक्रममा झाँक्रीले “मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं” भन्ने अभिव्यक्तिसँगै विवादमा आएकी थिइन्। सो अभिव्यक्तिलाई लिएर पार्टी महासचिव घनश्याम भूसालले पनि ध्यानाकर्षण गराएका थिए।

तर झाँक्रीले ती अभिव्यक्तिबाट पार्टीलाई हानि नहोस् भनेर आफैं सचिवालय बैठकमा उपस्थित भएर आफ्नो भनाइ स्पष्ट पार्न निवेदन दिएको जानकारी दिइन्। उनले आफूविरुद्ध फैलाइएको भ्रम हटाउन चाहेको बताउँदै पार्टीभित्रको आन्तरिक प्रक्रिया र संवादमै विश्वास रहेको धारणा राखिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?