© २०२३
काठमाडौं।
नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई अनुशासन सम्बन्धी विषयमा औपचारिक रूपमा स्पष्टीकरण सोधेको जनाएको छ। बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकपछि उपाध्यक्ष जगन्नाथ खतिवडाले अनुशासन आयोगमार्फत झाँक्रीलाई निश्चित समय दिएर स्पष्टीकरण सोधिएको जानकारी दिएका हुन्।
यसअघि, झाँक्रीले पार्टी कार्यालयमै सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूलाई स्पष्टीकरण सोधिएको खबरलाई निराधार भनेकी थिइन्। तर, खतिवडाले अनुशासन आयोगलाई जिम्मेवारी दिइएको र आयोगले तोकेको समयसीमाभित्र झाँक्रीको जवाफ आउने विश्वास व्यक्त गरे।
बैठकमा पतञ्जली प्रकरणमा अध्यक्ष माधवकुमार नेपालमाथिको आरोप, पछिल्लो राजनीतिक स्थिति र पार्टीका आन्तरिक विषयमा छलफल भएको जनाइएको छ। बैठकमा उपाध्यक्ष धर्मनाथ साह, उपमहासचिव मेटमणि चौधरी र राजेन्द्र राईले पनि आ–आफ्नो धारणा राखेका थिए।
पार्टीका केही नेताहरू अस्वस्थ रहेकाले बैठक छोटो समयमै स्थगन गरिएको र अब असार २२ गते पुनः बैठक बस्ने तय गरिएको हो।
झाँक्रीले आफूप्रति सोधिएको पत्र महासचिवबाट नभएर अनुशासन आयोगबाट आएको भन्दै त्यसलाई पार्टीको औपचारिक स्पष्टीकरण प्रक्रिया मान्न सकिने आधार नरहेको टिप्पणी गरेकी छन्। तर, उपाध्यक्ष खतिवडाले भने अनुशासन आयोग पार्टी संरचनाभित्रको विधिसम्मत निकाय भएकाले त्यसको निर्णय मान्य हुने बताए।