Butwal Today

०८४ को चुनावमा कांग्रेस संकटमा पर्न सक्छ : ईश्वरी न्यौपाने

१९ असार २०८२, बिहीबार
अ+
अ-

 काठमाडौं ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले आगामी आर्थिक वर्षको बजेट विनियोजनमा पार्टीका मन्त्रीहरूको भूमिकामाथि तीव्र असन्तोष व्यक्त गरेकी छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले “बजेट मन्त्रीले नदिने, तर जवाफदेही हामी सांसद?” भनेर गुनासो पोखेकी हुन्।

उनको भनाइमा, पार्टीभित्रै बजेटलाई लिएर स्पष्ट छलफल नगरी सांसदहरूलाई दोष दिने प्रवृत्ति हावी भएको छ। ‘चित्त नबुझेको कुरा भन्नुपर्ने हो, तर अहिले कांग्रेसले कांग्रेसलाई नै सार्वजनिक रूपमा गाली गरिरहेको छ,’ उनले भनिन्, ‘बजेट नदिने मन्त्रीहरू मौन, दोषचाहिँ सांसदहरूलाई?’

न्यौपानेले ७७ वटै जिल्लाका सभापति र केन्द्रीय सदस्यहरूसँग छलफल गरेर बजेटमा योजना राखिएको भए पार्टीभित्र असन्तोष बढ्न नपाउने धारणा पनि राखिन्।

त्यसैगरी, उनले पार्टीभित्र युवाको आकर्षण घट्दो रहेको र भ्रातृ संगठनको अधिवेशन वर्षौंसम्म गर्न नसक्नु नेतृत्वको कमजोरी भएको उल्लेख गर्दै सभापति शेरबहादुर देउवालाई सशक्त रुपमा ध्यानाकर्षण गराइन्।
‘यस्तो व्यवस्थापन र नेतृत्वका कारण ०८४ को चुनावमा कांग्रेसलाई गम्भीर चुनौती आउन सक्छ,’ उनले चेतावनी दिइन्।

न्यौपानेको यो अभिव्यक्तिले कांग्रेस नेतृत्व र मन्त्रीहरूलाई सिधा सन्देश दिएको राजनीतिक विश्लेषकहरूको ठम्याइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?