Butwal Today

काल्पनिक विद्यालयको नाममा ७ लाख ६० हजारको भ्रष्टाचार, चारजनाविरुद्ध मुद्दा

१९ असार २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काल्पनिक विद्यालयको नाममा योजना बनाई भ्रष्टाचार गरेको अभियोगमा चार जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।

डोल्पा जिल्लाको तत्कालीन दुनै गाविसमा दुर्गा प्राथमिक विद्यालय, तिप्लाको नाममा विद्यालय भवन निर्माण योजना ल्याइ झुट्टा विवरणका आधारमा ७ लाख ६० हजार रुपैयाँ सरकारी कोषबाट हिनामिना गरिएको आरोपसहित बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।

अख्तियारका अनुसार सो नामको विद्यालय वास्तविकतामै नदेखिएको पुष्टि भएको छ। त्यहाँ केवल श्री लालिगुँरास आधारभूत विद्यालय मात्र सञ्चालनमा रहेको पाइएको छ। शिक्षा कार्यालय र प्राविधिक टोलीको स्थलगत अनुगमनबाट दुर्गा प्रा.वि. पूर्णतः काल्पनिक भएको प्रमाणित भएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन्।

उक्त योजनालाई कार्यान्वयनमा ल्याउन तत्कालीन जिल्ला प्राविधिक कार्यालय डोल्पाका इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढाले आपसी मिलेमतोमा झुटा कागजात तयार पारेको अख्तियारको दाबी छ।

उनीहरूले विद्यालयको नाममा जस्ता छाना र दुई कोठे भवन निर्माण गरेको देखाएर सरकारी रकम निकासा गरेको पाइएको छ। चारै जनाविरुद्ध जनही ७ लाख ६० हजार रुपैयाँ बराबरको भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?