© २०२३
भैरहवा, १९ असार ।
नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले बुधबार मायादेवी गाउँपालिका–८ लुम्बिनीरोडस्थित सिद्धार्थ बालगृहमा खाना खुवाउने तथा सिलाई मेसिन हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
काँग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको १०१ औं जन्मजयन्तीको अवसर पारेर कार्यक्रम गरिएको क्षेत्रीय सभापति सुशील गुरुङले बताए । उनले बालगृहमा रहेका बालबालिकालाई खाना खुवाउनुका साथै यहाँ आवश्यक रहेको सिलाई मेसिन प्रदान गरिएको जानकारी दिए ।
साथै बालगृहलाई १५ हजार ५ सय ५५ रुपैयाँ पनि हस्तान्तरण गरिएको उनले बताए । सभापति गुरुङले नेपालको राजनीतिक इतिहासमा स्वर्गीय गिरिजा प्रसाद कोइरालाको योगदानबारे जति भने पनि कम हुने बताए । राजनीतिसँगै सामाजिक कार्य पनि गर्नुपर्छ भनेर काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले बालगृहमा कार्यक्रम गरेको उनको भनाइ थियो ।
कार्यक्रममा काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले काँग्रेस क्षेत्र नम्बर ३ समितिले रचनात्मक कार्य गरेको बताए । उनले यस्तो कार्य पार्टीका अन्य तहहरुका लागि पनि नवीनतम दृष्टिकोण बन्न सक्ने धारणा राखे । सभापति खाणले मानवीय सेवा नै जीवनको सर्वोत्तम कार्य भएको बताए । ‘सिद्धार्थ बाल गृहको सञ्चालक कृष्णमाया गुरुङले व्यक्तिगत सुखसुविधा त्यागेर बालबालिकाको सेवामा लाग्नुभएको छ, यो मानवीय कार्य हो, ’ भनिन् । उनले गिरिजा प्रसाद कोइरालाको जति वर्णन गरे पनि कमै हुने बताइन् । उनले बाल गृहका लागि जग्गा व्यवस्थापन हुन सके सञ्चालन गर्न सहज हुने बताइन् ।
लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीले बालगृहको जग्गा व्यवस्थापनका लागि आफूले पहल गर्ने बताए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले बालगृहलाई आवश्यक सहयोग गर्ने बताए ।
संविधान सभा सदस्य जन्नतुन निसाले काँग्रेस क्षेत्र नम्बर ३ ले सराहनीय कार्य गरेको बताए । काँग्रेस रुपन्देहीका सह–सचिव विष्णु थापाले बालगृहमा पुण्य कार्य भएको भन्दै बालगृहलाई नगद ५ हजार १ सय रुपैयाँ प्रदान गरे ।
पार्टीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० का सभापति विजयनाथ धवलले राजनीतिक पार्टीले राजनीति मात्र नभइ समाजसेवा पनि गर्नुपर्नेमा जोड दिए । बालगृहकी सञ्चालक कृष्णमाया गुरुङले आगामी दिनमा पनि बालगृहले साथ र सहयोगको अपेक्षा राखेको बताइन् । उनले बालगृहले मासिक ६१ हजार घरभाडा तिर्दै आएको जानकारी दिदै जग्गा व्यवस्थापन हुन सके भवन निर्माण गर्न सकिने बताइन् ।