© 2026
नवलपरासी, १९ असार ।
सरावलको प्राचीन ककरपत्त नगरमा पर्यटन पूर्वाधार सहिद पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न प्रदेश सरकारले विस्तृत परियोजना प्रतिवेदन तयार गर्न लागेको छ । लुम्बिनी प्रदेश सरकारको पर्यटकीय स्थलको सूचिमा सूचिकृत उक्त ककरपत्त नगरको विकासका लागि प्रदेश सरकारले स्वामित्व लिई पर्यटकीय क्षेत्र बनाउने कार्यले गाउँपालिका उत्साही भएको हो ।
प्रदेश सरकारको प्राविधिक टोली स्थलगत अध्ययन गर्न आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले बताए । यो सरावल गाउँपालिकाका लागि खुसीको कुरा हो, उनले भने, गाउँपालिका स्तरबाट बिस्तारै केही पूर्वाधारका काम गर्दै पर्यटकीय क्षेत्रको विकास गर्नका लागि निरन्तर प्रचार प्रसार तथा सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । अहिले प्रदेश सरकारले समेत डिपिआर गरी काम गर्ने तत्परता देखाएका छ, उनले थपे, यसले गाउँपालिकालाई उत्साही बनाएको छ । छोटो समयमै ककरपत्त नगरले पहिचान पाउनु र पर्यटकीय क्षेत्रको रूपमा विकास हुनु सरावलबासीलाई नै गौरवको कुरा भएको बताए ।
यसमा स्थानीयवासीले अझै क्रियाशील भएर लाग्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत मिश्राले यसका लागि जनप्रतिनिधि सहित गाउँपालिका कार्यालयले काम गर्दै आएको जानकारी गराएका थिए । बुद्ध पूर्णिमाको अवसरमा बौद्धभिच्छुलाई भोजनदान सहित सप्ताहव्यापी कार्यक्रम गरिएको थियो । उक्त अवसरमा गाउँपालिका भित्र यो ककरपत्त सहित प्राचीन सज्जनेल नगर (बासा), कुण्डिय नगर (भगडा) र सायुगा नगर (सरावल) को प्राचीन स्थलको पहिचान सहितको पुस्तक समेत प्रकाशित गरी विमोचन गरिएको गाउँपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले जानकारी गराएका थिए । अहिले सोही पुस्तकका आधारमा विभिन्न अध्येताहरू अध्ययनमा लागेको उनको भनाइ थियो ।
कोल वृक्ष बगैँचा रहेको उक्त स्थान केही बर्ष अगाडि मात्रै सो स्थान प्राचीन बौद्धकालीन ककरपत्त नगर रहेको पहिचान गरी औपचारिक रूपमा घोषणा तत्कालीन गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी र प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलको पहलमा बौद्ध अध्येता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले गरेका थिए । प्राचीन कोलिय गणराज्य अन्तर्गतको प्राचीन ककरपत्त नगर भएको घोषणा गरे पश्चात सो स्थानमा देशी विदेशीको चासो बढ्दै गएको स्थानीय कोल वृक्ष पर्यटन विकास संस्थाका सचिव अतेन्द्र चौधरीले बताए । यसलाई पुरातत्त्व विभागले ककरपत्त क्षेत्र एक प्राचीन स्मारक भएको र उत्खननका लागि पहल भइरहेको बताएका थिए । गाउँपालिकाले पनि काम गर्न उत्साह देखाएको उनको भनाई थियो ।
बुद्ध भूमिसँग जोडिएको लुम्बिनी, रामग्राम, तिलौराकोट मात्रै बुद्ध भूमि होइन । यो ककरपत्त नगर पनि बौद्धकालीन एक अति महत्त्वपूर्ण स्थान हो, जहाँ भगवान् बुद्ध आफै आएर यो ककरपत्त नगरका निगम (नगर) प्रमुख दिर्घजानुलाई गृह सुख सन्देश सुनाएको स्थान हो । यसलाई पनि बुद्धको महत्त्वपूर्ण सन्देश दिइएको ऐतिहासिक स्थान हो । भगवान् बुद्धले बौद्ध भिक्षुलाई विभिन्न सन्देश र देशना गरिएको भए पनि गृहस्तहरूलाई कसरी मुतिmको मार्ग पहिल्याउने संदेश यो गृहशुख सन्देशमा उल्लेख छ । यसलाई पनि नेपालका र नेपालमा आउने अन्य मुलुकका बौद्धमार्गिलाई यस स्थानको पहिचान गराउन आवश्यक रहेको उनले बताए । यसका लागि प्रेस चौतारीका पत्रकारको उपस्थितिले प्रचार प्रसार हुनेमा आफू विश्वस्त रहेको उनले सुनाए । गाउँपालिकाले सो स्थान बौद्ध स्थल भएको र ककरपत्तसँग जोडिएको इतिहाससँग सम्बन्धित केही पूर्वाधार तथा सन्देश दिइने खालको मूर्तिको स्थापना समेत गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गरिरहेको छ ।