Butwal Today
विश्व खेलकुद पत्रकार दिवस मनाइयो

पूर्व खेलाडी, प्रशिक्षकलाई सम्मान तथा खेल पत्रकार मनोरञ्जन शर्मालाई नगद सहयोग 

१८ असार २०८२, बुधबार
अ+
अ-

बुटवल, १८ असार ।

अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवस (जुलाई २) रुपन्देहीमा विविध रचनात्मक कार्यक्रम गरी मनाएको छ । नेपाल खेलकुद पत्रकार मंच, रुपन्देहीको आयोजनामा बुटवलमा विशेष कार्यक्रम गरी खेलकुद क्षेत्रमा योगदान दिएका पूर्व खेलाडी, प्रशिक्षक तथा खेलकुद पत्रकारलाई सम्मान तथा शुभकामना आदानप्रदान गरिएको हो ।

कार्यक्रमको एक समारोहका बिच पूर्व नेपाली महिला राष्ट्रिय फुटबल टिमकी सदस्य मोतीकला गुरुङले उद्घाटन गरिन ।
कार्यक्रममा मञ्चका अध्यक्ष सुमन अधिकारीले विश्व खेलकुद पत्रकार दिवसको सुरुवात र विधागत पत्रकारिताको विकास क्रमका बारेमा बताए । मोफसलमा विधागत पत्रकारितामा देखिएको कठिनाइलाई चिर्दै संस्थाको आगामी योजनाबारे प्रकाश पारे ।

कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घका उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार) ले मोफसलको खेलकुद गतिविधिलाई जोड दिन जरुरी रहेको बताए । खेलाडी, प्रशिक्षक मात्र नभई अबका दिनमा विधागत रूपमा खेल पत्रकारको क्षमता अभिवृद्धिमा समेत लाग्नुपर्ने सुझाव दिए ।

अहिले ३ तहको सरकारबाट खेल क्षेत्रमा भएको लगानी अनुसारको प्रतिफल आउन नसकेको उनको गुनासो गरे । राष्ट्रिय खेलाडी उत्पादनमा मोफसलको योगदानको चर्चा गर्दै उनले खेल क्षेत्रको विकास र व्यावसायिक खेलाडी उत्पादनमा नयाँ आयाम शुरुभएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रुपन्देही शाखाका अध्यक्ष दिनेश पाण्डे, अमेरिका पत्रकार सङ्घका अध्यक्ष सुरज भण्डारी, एन्फाका पूर्व उपाध्यक्ष हरि प्रसाद श्रेष्ठ, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, रुपन्देही फुटबल सङ्घका अध्यक्ष लोक पुनले खेलकुद पत्रकारिता केवल खेल क्षेत्रको विकासमा टेवा पु¥याएको मात्र नभई समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्न पनि भूमिका खेलेको उल्लेख गरे ।

कार्यक्रममा पूर्व नेपाली क्रिकेटका सदस्य तथा नेपाली यू १९ टिमका प्रशिक्षक शक्ति गौचन र भलिबल प्रशिक्षक अर्जुन घिमिरेलाई सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा दुई दशकभन्दा बढी समयदेखि रुपन्देहीमा खेलकुद क्षेत्रमा सक्रिय रहनुभएका खेल पत्रकार मनोरञ्जन शर्मालाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । क्यान्सरको उपचारमा रहेका शर्मालाई संस्थाबाट सहयोग गरिएको हो ।

कार्यक्रममा मञ्चका सचिव स्वस्तिक श्रेष्ठले अन्तर्राष्ट्रिय खेलकुद पत्रकार सङ्घले आफ्नो ७० औँ वार्षिकोत्सव मनाउन सन् १९९४ मा यो विशेष दिवस सिर्जना गरेको थियो । विगत केही वर्षदेखि हामीले पनि रुपन्देहीमा दिवसमा शुभकामना आदान प्रदान गरी मनाउन सुरुवात गरेका छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?