Butwal Today

सेयर बजारमा हरियाली: नेप्से २६९४ अंकमा, कारोबार ९ अर्ब नाघ्यो

१८ असार २०८२, बुधबार
अ+
अ-

काठमाडौं ।

बुधबार सेयर बजार उत्साहजनक उकालो लागेको छ। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३४.४२ अंकले अर्थात् १.२९ प्रतिशतले बढेर २६९४ अंकमा पुगेको छ। यो वृद्धिसँगै नेप्से लगातार चौथो दिन हरियो भएको हो।

सिर्फ सूचक मात्र होइन, कारोबार रकममा पनि उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो दिन ७ अर्ब ३ करोड रुपैयाँको कारोबार भएकोमा आज ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। यसमध्ये सबैभन्दा धेरै कारोबार हाइड्रोपावर समूहमा भएको छ, जसको मात्र कारोबार ४ अर्ब ५६ करोड रुपैयाँ बराबर पुगेको छ।

कुल १८२ कम्पनीको शेयर मूल्य बढेको छ भने ६५ को घटेको छ। एउटाको मूल्य स्थिर रह्यो।

बजारमा सबै सूचक सकारात्मक देखिए, तर जीवन बीमा समूह सबैभन्दा अगाडि देखियो, जसको सूचक २.८३ प्रतिशतले उकालो लाग्यो। त्यसपछि निर्जीवन बीमा २.५१, विकास बैंक २.३१, फाइनान्स १.९९, बैंकिङ १.३६ र व्यापार समूह १.७६ प्रतिशतले बढेका छन्। अन्य समूहहरूमा पनि क्रमशः सानो दरमा वृद्धि देखिएको छ।

दुई कम्पनी — ग्रिन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावर — ले १० प्रतिशतको बृद्धि गर्दै सर्किट हिट गरे। त्यस्तै, नेपाल इन्स्योरेन्स ९.८२, गुराँस लघुवित्त ९.१५, सिन्धु विकास बैंक ८.९२, र कर्पोरेट डेभलपमेन्ट बैंक ८.२९ प्रतिशतले बढेका छन्।

आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, साहस ऊर्जा, सप्तकोशी विकास बैंक, लक्ष्मी सनराइज बैंक (संस्थापक सेयर) र बुटवल पावर परेका छन्।

लगातारको वृद्धिसँगै बजारमा आशा पलाएको छ, र लगानीकर्ता थप सक्रिय हुँदै गएका देखिन्छन्। बजारले यस्तै रफ्तार कायम राखेमा साउन प्रवेश गर्ने मुखमा लगानीकर्ताको मनोबल अझै बलियो हुने संकेत देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?