© २०२३
काठमाडौं ।
प्रतिनिधि सभाबाट पारित भइसकेको संघीय निजामती सेवा विधेयक आज (बुधबार) राष्ट्रिय सभामा सन्देशसहित टेबुल गरिएको छ। राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले विधेयक प्रतिनिधि सभाबाट प्राप्त सन्देशसहित टेबुल गरेका हुन्।
विधेयक टेबुल भएसँगै राष्ट्रिय सभाका सदस्यहरूले विधेयकमाथिको चलखेल र किर्ते कार्यप्रति गम्भीर आपत्ति जनाउँदै छानबिन र कारबाहीको माग गरेका छन्।
सांसद रुक्मिणी कोइरालाले विधेयकमा भएको अनधिकृत संशोधन र प्रक्रियागत असमानताबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरिन्। त्यस्तै सांसद बिष्णुकुमारी सापकोटाले विधेयकमा देखिएका त्रुटिहरू सच्याउनुपर्ने आवश्यकता औंल्याउँदै संलग्नहरूलाई कारबाही गर्न माग गरिन्।
सांसद श्रीकृष्ण प्रसाद अधिकारीले विधेयक प्रारम्भिक छलफलमा दुई वर्षको कुलिङ पिरियड राख्ने सहमति भएको भए पनि अन्ततः ‘बाहेक’ शब्द थपिएर विधेयकको मर्म विपरीत रूप दिइएको भन्दै आपत्ति जनाए। उनले यो कार्यलाई कानून निर्माणमा किर्ते ठहर गर्दै संसदीय समिति गठन गरेर जिम्मेवार व्यक्तिहरूमाथि कारबाही गर्नुपर्ने बताए।
विधेयक संसदबाट पारित हुनुअघि नै २ वर्षको कुलिङ पिरियडमा सहमति भए पनि, अन्तिम रूप दिँदा थपिएको ‘बाहेक’ शब्दले विधेयकलाई विवादास्पद बनाएको हो। अहिले राष्ट्रिय सभामा यसलाई संशोधनसहित पारित गर्ने या पुनः समीक्षा गर्ने भन्ने बहस तीव्र हुँदै गएको छ।
अब यो प्रकरणलाई संसदले कसरी अघि बढाउँछ भन्नेमा जनस्तरमा चासो बढिरहेको छ, किनभने यसले कानून निर्माण प्रक्रियाको पारदर्शिता र संसदको नैतिकता दुबैको परीक्षण गर्नेछ।