© २०२३
काठमाडौं ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुम्कीबासस्थित बुटवल–नारायणगढ खण्डको विनयी खोलामा निर्माण गरिएको नयाँ पुलको काम सम्पन्न भएको छ। पुलमा कालोपत्रे समेत गरिएपछि बिहीबार बिहान ११ बजेदेखि यातायात सञ्चालनमा ल्याइने नारायणगढ–बुटवल सडक आयोजनाले जानकारी दिएको छ।
विनयी खोलामा रहेको झन्डै पाँच दशक पुरानो पुल गत पुस २६ गते भारतीय ट्रकको भारले भाँचिएपछि सो ठाउँमा अस्थायी डाइभर्सन बनाएर सवारीसाधन चलाइँदै आएको थियो। तर डाइभर्सन बारम्बार खोलाको बहावले बगाउँदा, सवारी आवागमनमा निकै कठिनाइ आइरहेको थियो। यात्रु तथा सवारी चालकहरूलाई दिनहुँजसो घण्टौंको जाम र जोखिमपूर्ण यात्रा गर्न बाध्य बनाएको यो अवस्था अन्ततः अब हट्ने भएको छ।
२४५ मिटर लामो र ७.५ मिटर चौडाइ भएको नयाँ पुलको देब्रे किनारमा फुटपाथ समेत बनाइएको छ। सडक विस्तार आयोजना पूर्वीखण्डका सूचना अधिकारी शिव खनालका अनुसार, पुल सञ्चालनमा आएपछि पूर्व–पश्चिम राजमार्गको दुम्कीबास खण्डमा यात्रा सहज र सुरक्षित हुनेछ।
अस्थायी डाइभर्सन डुबानमा परेर बारम्बार बग्दा यात्रुहरूले वैकल्पिक रूपमा घुमाउरो र लामो बाटो रोज्न बाध्य हुनु परेको थियो। तर अब पुल सञ्चालनमा आएपछि उक्त समस्या अन्त्य हुने आशा गरिएको छ।
दाउन्ने क्षेत्रसमेत समेटिएको सडक विस्तार योजनाको क्रममा बर्खायाममा पनि यातायात सुचारु राख्नेगरी आवश्यक तयारी भइरहेको आयोजनाले जनाएको छ। यात्राको सहजता र जोखिम न्यूनीकरणमा नयाँ पुलले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।