© २०२३
सुनवल, १८ असार ।
नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई केन्द्रीय अनुशासन समितिले कारबाहीको सिफारिस गरेपछि नवलपरासी काँग्रेस तरङ्गित भएको छ । खनालमाथि पूर्वाग्रही तवरले शक्तिको आडमा कारबाही सिफारिस गरिएको भन्दै जिल्ला कार्यसमिति खनालको पक्षमा देखिएको छ । जिल्ला तथा प्रदेश तहका नेताहरूले काँग्रेस केन्द्रीय सदस्यद्वय विनोद चौधरी र देवेन्द्रराज कंडेल माथि आक्रोश व्यक्त गरेका छन् ।
खनालले सोमबार पार्टी कार्यालय परासीमा पत्रकार सम्मेलनको आयोजना गरी इमानदारितापूर्वक पार्टी नीति अनुरूप काम गर्ने नेताकार्यकर्तालाई दण्डित गर्ने प्रयास सैह्य नहुने बताए । ‘कारबाही हुनुपर्ने कुनै कारण छैन, खनालले भने यदि हुनुपर्ने भए पनि त्यसमा विधि प्रक्रिया होला, जिल्लामा उजुरी गरेर प्रदेश हुँदै केन्द्रमा जानुपर्नेमा डनवाद, परिवारवाद र शक्ति केन्द्रको दबाबमा मलाई कारबाही हुन लागेको अफवाह फैलाइँदै छ, यस्ता क्रियाकलाप गर्नेलाई कारबाही हुनुपर्छ ।’
नवलपरासीमा गत निर्वाचनमा पार्टीका उम्मेदवार विनोद चौधरी, देवेन्द्रराज कँडेल, देवकरण कलवारलाई हराउन भूमिका खेलेको भन्दै निलम्बनसहित कारबाहीको सिफारिस भएको स्रोतले जनाएको छ । तर खनालले आफ्नो क्षेत्रमा चुनाव लड्ने तयारी गर्दागर्दै विनोद चौधरीलाई सुरुमा कार्यकर्ताकै भावना अनुरूप विरोध गरेको भए पनि पार्टीले टिकट दिएपछि चुनाव जिताउन लागिपरेको पत्रकार सम्मेलनमा दाबी गरे । ‘आम निर्वाचनमा पार्टीको उम्मेदवारलाई जिताउन प्रतिबद्ध भएर लागेको हुँ, निर्वाचन क्षेत्र नम्बर एकको नतिजाले त्यो स्पष्ट हुन्छ,’ खनालले भने । काँग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कंण्डेलप्रति ईगिंत गर्दे महामन्त्री खनालले आफूलाई सकायो भने अरू नेता कार्यकर्तालाई पनि तर्साउन सकिन्छ कि भनेर कारबाहीको दुष्प्रयास गरिएको टिप्पणी गरे ।
महामन्त्री खनालले पार्टीमा नवधनायढ्यवाद, डनवाद, अकुत सम्पत्ति कमाउने, सार्वजनिक सम्पत्ति दोहन गर्ने जस्ता अनेकौँ अराजकता मौलाएको भन्दै त्यसका विरुद्ध सधैँ आवाज उठाइरहने बताए । सो क्रममा काँग्रेस नेता तथा प्रदेश सभा सदस्य विश्व प्रेम पाठकले काङ्ग्रेसले पछिल्लो समय ठिक रवैया नदेखाएको भन्दै पैसाको प्रभावमा महामन्त्री खनालमाथि कारबाही गर्न खोजिएको दाबी गरे । जिल्ला सभापति अर्जुन कुमार पोखरेलले जबरजस्ती हेपाह प्रवृत्ति देखाएर केन्द्रीय सदस्य चौधरीले पार्टीमा अराजकता सृजना गर्न खोजेको भन्दै नवलपरासीमा कुनै योगदान नभए पनि पैसाको बलमा चुनाव लडेर जनप्रतिनिधि बनेको आरोप लगाए ।
काँग्रेस नवलपरासीका प्रवक्ता राधेश्याम पाठकले केन्द्रीय सदस्य चौधरी र कंण्डेल प्रति कडा आक्रोश व्यक्त गरे । पैसाको बलमा विनोद चौधरीले चुनाव जितेको बताउँदै पाठकले चौधरीलाई ‘अन्तर्राष्ट्रिय ठग’ को संज्ञा दिए ।
जिल्ला सचिव उमेशचन्द्र यादवले विनोद चौधरी, देवकरण कलवार सन्तुले काँग्रेसबाट चुनाव जितेको भए पनि आफूहरूले स्थानीय सरकारमा बसेर अनुभूति गर्न नपाएको बताउँदै विक्रम खनालको पक्षमा एक हुन आह्वान गरे ।
जिल्लामा परेको उजुरीको आधारमा जिल्ला अनुशासन समितिले केन्द्रीय सदस्य तथा पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंण्डेल सहित गुणनिधि तिवारी, मोहन शर्मा, श्रीधर बस्याल लगायत सात जनलाई कारबाही सिफारिस गरेको छ । सचिव कुलदिप आचार्यका अनुसार जिल्लाबाट निर्णय भएर प्रदेश हुँदै केन्द्र सम्म चुनावमा गरेको अन्तरघातको प्रमाण सहित पठाएको भए पनि कुनै कारबाही भएको छैन् ।
‘जसलाई कारबाही हुनुपर्ने हो, जिल्लामा परेको उजुरी प्रमाण सहित विधि प्रक्रिया अनुरूप पठाएका छौँ, त्यो कार्यान्वयन हुन्न तर केन्द्रबाट सिधै कसैको दबाबको आधारमा इमानदार नेतामाथि कारबाही गर्न खोजिएको छ, आचार्यले भने ।’
काँग्रेस नवलपरासीमा लामो समयदेखि केन्द्रीय सदस्य तथा पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंण्डेल र संविधानसभा सदस्य तथा पार्टीका लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालको गुटगत टकराव छ । जिल्लामा विक्रम खनाल पक्षधर नेताहरूले अहिले विक्रम खनालको पक्षमा रहेको भन्दै सामाजिक सञ्जालमा अभियान चलाएका छन् ।