© २०२३
काठमाडौँ, १८ असार ।
नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ। लामो समयदेखि मिर्गौला रोगबाट पीडित यादवको आज बिहान वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा ७२ वर्षको उमेरमा निधन भएको हो।
बारा जिल्लाको सुवर्ण गाउँपालिका–२ कवहीजगात निवासी यादव २०७० सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं १ बाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेस बारा जिल्ला सचिवका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए। यादवले लोकतान्त्रिक आन्दोलनमा समेत सक्रिय भूमिका खेलेका थिए। उनका दुई छोरा, दुई छोरी र श्रीमती छन्।
उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्। शोक सन्देश जारी गर्दै देउवाले यादवको योगदान सदा स्मरणीय रहने उल्लेख गरेका छन्। “संविधानसभा सदस्य एवं बाराका पूर्व जिल्ला सचिव रामअयोध्याप्रसाद यादवको निधनको खबरले मलाई अत्यन्त स्तब्ध र दुःखीत बनाएको छ,” देउवाले भनेका छन्, “स्वर्गीय यादवले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहिरहनेछ। उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।”