काठमाडौं ।
संघीय निजामती सेवा विधेयकमा देखिएको विवाद र संशोधनको प्रकरणले संसदमा भूचाल ल्याइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले यसमा संलग्न सबैलाई कारबाही गर्न माग गरेको छ।

राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले समितिका सभापति रामहरि खतिवडा, सचिव सुरजकुमार दुरा र अन्य संलग्नहरूमाथि गम्भीर छानबिन गर्नुपर्ने आवश्यकता औँल्याए।
पाण्डेले कडा शब्दमा भने, “सानोतिनो षड्यन्त्र भएको होइन, संसद्लाई बदनाम गर्ने गरी ठूलो षड्यन्त्र भएको छ। यसलाई यसै छाड्न हुँदैन। उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनु पर्यो।”
उनका अनुसार विधेयक तयार गर्ने प्रक्रियादेखि नै अनेक अड्चन र हस्तक्षेपहरू भइरहेका थिए, जसले देखाउँछ कि यो सामान्य त्रुटि होइन, पूर्वनियोजित र गम्भीर षड्यन्त्र हो।
पाण्डेले दोषीहरूलाई नचिनिँदासम्म र कानुनी रूपमा कडा कारबाही नगर्दासम्म संसदको गरिमा सुरक्षित रहन नसक्ने बताएका छन्।
यो अभिव्यक्तिले संसदभित्र विधायन प्रक्रियाको पारदर्शिता र जवाफदेहिता माथि उठेको प्रश्नलाई थप बल दिएको छ। अब संसदमा यस विषयमा के कदम चालिन्छ भन्ने प्रतीक्षामा सबैको ध्यान केन्द्रित भएको छ।




