सुर्खेत,१८ असार ।
मध्य असार बितिसक्दा कर्णालीमा ५४ प्रतिशत रोपाई सकिएको छ । समयमै पानी परेको कारण मध्य असारमा ५४ दशमलव ४६ प्रतिशत रोपाई सकिएको हो । कर्णालीका १० वटै जिल्लाहरूको ४० हजार ८ सय ८४ हेक्टर जमिनमा धान खेती हुन्छ । हालसम्म २२ हजार २ सय ६७ दशमलव २ हेक्टर जमिनमा रोपाई सकिएको छ । जुन प्रतिशतका आधारमा ५४ दशमलव ४५ प्रतिशत जमिनमा रोपाई भइसकेको छ ।
कृषि विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी टेकराज रेग्मीका अनुसार कर्णालीमा सबैभन्दा धेरै डोल्पामा र सबैभन्दा कम सुर्खेतमा रोपाई सकिएको छ । हिमाली जिल्ला डोल्पामा ९५ प्रतिशत रोपाई सकिएको छ । उक्त जिल्लामा एक सय सय ९८ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म १ सय ८८ दशमलव १ हेक्टर जमिनमा रोपाई सकिएको छ । हुम्लामा ९२ प्रतिशत रोपाई भएको छ ।
हुम्लामा ५ सय ८५ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म ५ सय ३८ दशमलव २ हेक्टर जमिनमा रोपाई सकिएको निर्देशनालयले जनाएको छ । यस्तै जुम्लामा २ हजार ८ सय ९० हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म २ हजार ६ सय ५८ दशमलव ८ हेक्टर जमिनमा रोपाई सकिएको छ । जो कुल धान खेती हुने जमिनको ९२ प्रतिशत जमिनमा रोपाई सकिएको छ ।
कर्णालीका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा कम क्षेत्रफलमा रोपाई भएको छ । सुर्खेतमा हालसम्म ३९ प्रतिशत मात्र रोपाई सकिएको छ । विशेष गरेर सिचाइको लागि आकाशे पानीको भर पर्नुपर्ने क्षेत्रहरूमा रोपाई हुन सकेको छैन जसका कारण अन्य जिल्लाको तुलनामा कम क्षेत्रफलमा रोपाई भएको हो ।
सुर्खेतमा १४ हजार ९ सय २१ हेक्टर जमिनमा धान रोपाई हुँदै आएकोमा हालसम्म ५ हजार ८ सय ८१ दशमलव ५१ हेक्टर जमिनमा रोपाई सकिएको छ । यस्तै दैलेखमा कुल धान खेती हुने जमिन ७ हजार ६ सय २० हेक्टर मध्य हालसम्म ३ हजार २ सय दशमलव ४ हेक्टर जमिनमा रोपाई सकिएको छ । जो कुल धान खेती हुने जमिनको ४२ प्रतिशत रोपाई सकिएको हो । रुकुम पश्चिममा धान खेती हुने जम्मा २ हजार ८ सय ८५ हेक्टर जमिनमा २ हजार १९ दशमलव ५ हेक्टरमा रोपाई सकिएको छ । जुन कुल धान खेती हुने जमिनको ७० प्रतिशत रोपाई सकिएको हो ।
यस्तै जाजरकोटमा धान खेती हुने जमिन जम्मा २ हजार ६ सय ४५ हेक्टर जमिनमा १ हजार ४ सय १ दशमलव ८५ हेक्टर जमिनमा धान खेती सकिएको छ । जो कुल खेती योग्य जमिनको ५३ प्रतिशत रोपाई सकिएको हो । निर्देशनालयको तथ्याङ्क अनुसार सल्यानमा कुल ६ हजार १ सय ३४ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म ४ हजार ७ सय ८४ दशमलव ५२ हेक्टर जमिनमा धान रोपाई सकिएको छ । जो कुल धान खेती हुने जमिनको ७८ प्रतिशत रोपाई सकिएको छ ।
मुगुमा कुल ५ सय ४४ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म ३ सय १० दशमलव ८ हेक्टर जमिनमा धान रोपाई सकिएको छ । जो कुल धान खेती हुने जमिनको ५७ प्रतिशत जमिनमा रोपाई सकिएको छ । यस्तै कालिकोटमा जम्मा २ हजार ४ सय ६२ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म १ हजार २ सय ८० दशमलव २४ हेक्टर जमिनमा रोपाई सकिएको छ । जो कुल धान खेती हुने जमिनको ५२ प्रतिशत जमिनमा रोपाई सकिएको छ ।