© २०२३
सल्यान, १८ असार ।
सल्यानको छत्रेश्वरी गाउँपालिकाले लघु, घरेलु तथा साना उद्योगहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न सामग्रीहरू उपलब्ध गराएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ११ जना उद्यमीहरूलाई ५० प्रतिशत अनुदानमा प्रविधि हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । मंगलबार भोटेचौरमा एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री तथा प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले उद्यमीहरूलाई फ्रिज, डिफ्रीज, सिलाइ तथा इन्टर लक मेसिनहरू हस्तान्तरण गरेका हुन् ।
सार्वजनिक सूचना जारी गरेर आवेदन दिएका उद्यमीहरूको व्यवसाय स्थलगत रूपमा नै अनुगमन गरी कानुनी रूपमा दर्ता गरेर व्यवसाय सञ्चालन गरिरहेका उद्यमीहरूलाई अनुदानमा प्रविधि हस्तान्तरण गरिएको उद्यम विकास शाखाले जनाएको छ ।
जस अन्तर्गत ४ जना उद्यमीहरूलाई फ्रीज, एक जनालाई डिफ्रिज, ४ जनालाई सिलाई मेसिन तथा २ जनालाई इन्टर लक मेसिन हस्तान्तरण गरिएको उद्यम विकास शाखा प्रमुख निमा बस्नेतले जानकारी दिइन् । भ्याट सहित प्रविधि हस्तान्तरणका सामग्री खरिद, ढुवानी एवं प्रशासनिक खर्च र सम्बन्धित उद्यमीको लागत सहभागिता गरेर २ लाख ७० हजार रुपैयाँ लगानी भएको गाउँपालिकाले जनाएको छ । छत्रेश्वरी गाउँपालिकाले चालु आर्थिक वर्षमा नै ८५ जनालाई विभिन्न सीप विकास सम्बन्धी तालिम पनि प्रदान गरेको छ । ३४ जनालाई कटाई सिलाईको आधारभूत र १३ जनालाई एडभान्स तालिम प्रदान गरेको गाउँपालिकाले १८ जनालाई गुडिया बनाउने, १२ जनालाई चप्पल बनाउने र ८ जनालाई सिलाई मेसिन मर्मत गर्ने सीप विकास तालिम प्रदान गरेको उद्यम विकास शाखा प्रमुख बस्नेतले जानकारी दिइन् ।