© 2026
काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई पार्टी नेतृत्वविरुद्ध दिएको सार्वजनिक अभिव्यक्तिका कारण स्पष्टीकरण सोधेको छ। पार्टी सचिव सोमप्रसाद पाण्डेका अनुसार तीन दिनभित्र जवाफ दिनुपर्ने गरी झाँक्रीलाई स्पष्टीकरण पत्र पठाइएको हो। “उहाँले जे बोल्नुभयो, त्यसमा स्पष्टीकरण सोधिएको छ,” उनले भने।
गत शनिबार झाँक्रीले पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपालको संलग्नता देखिएको भन्दै पार्टी नेतृत्व पुनर्गठन गर्नुपर्ने माग सार्वजनिक रूपमा राखेकी थिइन्।
झाँक्रीले आफ्नो अभिव्यक्तिमा “सिनो बोकेर अगाडि बढ्न सकिँदैन” भन्ने तीव्र टिप्पणी गरेकी थिइन्, जसले पार्टीभित्र व्यापक बहस र असन्तुष्टि उत्पन्न गरेको थियो।
उनको भनाइप्रति पार्टीको अनुशासन आयोगले कारबाही प्रक्रिया अगाडि बढाउँदै स्पष्टीकरण सोधेको हो। अब झाँक्रीको जवाफपछि पार्टीले थप निर्णय लिने बताइएको छ।