© २०२३
राष्ट्रिय गौरवका आयोजना निर्माणमा ढिलाइ भइरहेको अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ आधुनिक भवन निर्माणको कामले तीव्रता पाएको सुन्दा खुसी लाग्नु स्वाभाविक हो । त्यसै पनि स्वास्थ्य क्षेत्रमा भएको विकास र त्यसबाट बिरामीले पाउने सुविधाको सवालमा लुम्बिनी प्रादेशिक अस्पतालको भौतिक निर्माणमा भएको प्रगतिले सन्तोष दिएको छ । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले आगामी ३ वर्ष भित्रनै सक्ने गरी निर्माणको कामले तीव्रता पाएको दाबी गरेको छ । बिचमा कुनै प्राकृतिक विपत्ति वा आर्थिक सङ्कट नआएमा निर्धारित समयभन्दा छिटो नै यो निर्माणको काम पूरा हुने आधार तयार भएको छ ।
हालसम्म अस्पतालको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ । हाल अस्पतालको मुख्य भवनको दायाँ, बायाँ र बिच भागमा बेसेन्टको काम सम्पन्न भइसकेको छ । १२ सय शैयाको यो अस्पताल निर्माण सम्पन्न हुँदा लुम्बिनी प्रदेशले मात्रै होइन, गण्डकी र कर्णाली प्रदेशका जनताले समेत स्वास्थ्य उपचार सेवा सहज रूपमा पाउने विश्वास गरिएको छ । तर, भवन निर्माण मात्रैले पनि हुँदैन । अस्पतालमा आवश्यक दक्ष जनशक्तिको अभाव भएको अवस्थामा १२ तले नयाँ भौतिक संरचनाले बुटवललाई नै गिज्याउने अवस्था नबनोस् ।
त्यसका लागि लुम्बिनी प्रादेशिक अस्पताल व्यवस्थापनले अहिलेदेखि नै आवश्यक तयारीको काम गरोस् । अस्पतालमा अहिले पनि उपचार सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने बाध्यता छ । एक वटा चिकित्सकले दैनिक बहिरङ्ग सेवातर्फ सय बढी बिरामी हेर्नुपरेको देखिन्छ । यसरी अस्पतालले स्वास्थ्य सेवा प्रभावकारी बनाएको ठान्न सकिदैन् । तसर्थ भवन सँगसँगै आवश्यक उपकरण, चिकित्सकीय दरबन्दी, बिरामीले सेवा पाएको अनुभूति गरुन् भन्नेतर्फ ध्यान दिनु जरुरी छ । अस्पतालको १२ तले भवन बन्दै छ तर यो अस्पतालको विशालकाय भौतिक संरचना अहिले पालिकामा बनेका अस्पतालको जस्तो नियति नहोस् । त्यसका लागि अस्पताल प्रशासनले समयमै दक्ष जनशक्ति, आवश्यक स्वास्थ्य उपकरण लगायत पूर्व तयारीको काम गर्नु जरुरी छ ।
त्यसो त यो अस्पतालको हर सम्भव विकासका लागि यस क्षेत्रबाट निर्वाचित सांसद र मन्त्रीहरूले ठुलो सहयोग गर्दै आउनुभएको छ । अर्थमन्त्री विष्णु पौडेलले अस्पतालका आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । तसर्थ अब ढिलो नगरी अस्पताल सम्पन्न हुँदै गर्दा अस्पतालको उपचार गर्ने क्षमता दोब्बर मात्रै होइन चौबर हुन सकोस् । अहिले दैनिक करिब एक हजार पाँच सय बिरामीले सकसपूर्ण तरिकाले सेवा लिइरहेका छन् । अबको दिनमा दैनिक चारदेखि पाँच हजार बिरामीले सहज रूपमा सेवा पाउने वातावरण भयो भने बल्ल प्रादेशिक अस्पतालप्रति यहाँका जनताले गौरव बोध गर्नेछन् । अस्पतालको दुई भवन, उपकरण र आन्तरिक व्यवस्थापनसहित अस्पतालको लागत आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ रुपियाँ रहने अनुमान छ ।
नयाँ भवनबाट विशिष्टीकृत ग्यास्ट्रिक एन्टेरोलोजी, न्युरोलोजी, कार्डियोलोजी लगायतका सबै विभागीय सेवा एउटै भवनबाट सञ्चालन हुनेछन् । जे होस् यो अस्पतालको भौतिक संरचना निर्माणको काम देखेर जो कोहीले खुसी मानेको अवस्था छ । अस्पतालको भौतिक संरचना जसरी ठडिने तरखर छ, यसको गुणस्तरीयता, विश्वसनीयता र जबाफदेहिताको सवालमा अस्पतालले साँच्चै तरक्की गरोस् ।
यो अस्पतालको भविष्य हजारौँ बिरामीको आस्था र विश्वाससँग जोडिएको छ । अहिले अस्पतालभित्र प्रवेश गर्दा सबैभन्दा पहिले अस्पतालको सेवाप्रति आम जनताको चासो हुनु स्वाभाविक छ । तर, अस्पतालप्रति अहिले पनि बिरामीको गुनासो उस्तै सुनिन्छ । जस्तो आजभन्दा १० बर्सअघि पनि यस्तै गुनासो थियो । उही लाइन बस्नुपर्ने, डाक्टरसँग जाँच गराउन हम्मे हम्मे पर्ने, विशेषज्ञ चिकित्सकीय सेवा पाउन समस्या आदि गुनासोमा कमी आउन सकेको छैन ।
यी गुनासोप्रति अस्पताल प्रशासन जबाफदेही बनोस् । अस्पतालको सेवालाई लिएर समयमै हुने खबरदारीले अस्पतालको सुधारमा ठुलो सहयोग पुग्छ । सरकारी अस्पतालप्रति आम बिरामीमा रहेको दृष्टिकोणमा परिवर्तन ल्याउन अव ढिलाइ गर्नु हुँदैन । गणतन्त्र आएको पनि लामो समय भइसक्यो । धेरै क्षेत्रमा आम जनताले परिवर्तनको अनुभूति गरिरहँदा सरकारी अस्पतालको सेवा लिँदा गर्व गर्ने परिस्थिति बनोस् । अस्पताल प्रशासन मात्रै होइन, सङ्घीय र लुम्बिनी प्रदेश सरकारको पनि ध्यान जाओस् ।