© २०२३
मूर्खः परिहसन्त्येव गुणिनं गुह्यवक्तृणम्।
अहंकारो हि मूर्खाणां ज्ञानमार्गनिरोधकः।।
अर्थात् – मूर्खहरू विद्वान् वा ज्ञान बाँड्ने व्यक्तिको उपहास गर्छन् । किनभने उनीहरूको अहंकारले ज्ञानको बाटो अवरुद्ध गर्छ ।
जीवन एउटा यात्राजस्तै हो – खुला आकाश, फराकिलो बाटो, र कहिले काँडा, कहिले सुन्दर बगैंचा । यो यात्रामा हामी कैयौं अनुहारहरूसँग भेट्छौं, रमाउँछौं, र बाँड्छौं पनि । तर, कतिखेर हामी त्यो खुला यात्राबाट मोडिएर एउटा साँघुरो गल्लीमा पस्यौं – थाहा हुँदैन । त्यो गल्ली, जसको नाम हो –अहंकार ।
अहंकार, जसको सुरुवात स्वाभिमानको नाममा हुन्छ, तर विस्तारै घमण्डमा पनि । जब हामी आफैँलाई सधैं ठीक ठान्न थाल्छौं, जब अरूको सुझावलाई लत्याउन थाल्छौं, जब आलोचना असह्य बन्छ, तब सुरु हुन्छ –अहंकारको साँघुरो गल्लीको यात्रा ।
यो गल्ली साँघुरो छ – त्यसैले यसमा सहअस्तित्व सम्भव छैन । अहंकारी मानिस सधैं आफूलाई मात्र केन्द्रमा राख्न खोज्छ, अरूको ठाउँ घटाउँछ । तर विडम्बना — आफैंलाई बढाउँदा बढाउँदै ऊ सास फेर्न सक्दैन । त्यही साँघुरो गल्लीमा उसले न त सम्बन्धको स्पर्श पाउँछ, न साँचो आत्मसन्तुष्टि। ऊ ठूलो देखिन खोज्छ, तर भित्रभित्रै सानो हुँदै जान्छ ।
जीवनमा सबैभन्दा खतरनाक कुरा भनेको बाहिरी सफलता र भित्रको अहंकारको सहकार्य हो । जब मान्छेले थोरै ज्ञान, पद, सम्पत्ति, प्रसिद्धि कमाउँछ, अनि त्यसैको भरमा आफैँलाई सर्वश्रेष्ठ ठान्न थाल्छ । ऊ भुल्छ — त्यो प्राप्ति क्षणिक हो, तर विनम्रता नै स्थायी जग हो । जब मान्छे आफूलाई यति माथि राख्न थाल्छ कि अरूको स्वर उसले सुन्न सक्दैन, तब ऊ साँघुरो गल्लीभित्र गुम्सिएको हुन्छ ।
अहंकारको विशेषता नै यही हो — यो आत्मालाई अरूबाट टाढा पार्छ। श्रीमान्–श्रीमतीबीचको झगडा कहिल्यै ’ठूलो’ कुराबाट सुरु हुँदैन, तर ’मैले नै किन माफी माग्ने?’ भन्ने सोँचबाट सुरु हुन्छ। गुरुले छात्रको सुझाव अस्वीकार गर्छन्, केवल ’मैले पढाएको छु’ भन्ने दर्पका कारण। एउटै परिवारभित्र साना कुरामा मनमुटाव बढ्दै जान्छ, किनभने प्रत्येक सदस्यले आफूलाई मात्र ठीक ठान्न थाल्छ। यी सबै व्यवहारको जरो अहंकारको त्यो साँघुरो गल्लीभित्र गडिएको हुन्छ।
कहिलेकाहीँ मान्छे भन्छ — “मैले आफैँ बनाएको छु। म अरूको ऋणी छैन।“ यस्तो वाक्य सुन्दा लाग्छ, ऊ कति आत्मनिर्भर छ। तर त्यो आत्मनिर्भरता होइन — त्यो आत्म–विस्मृति हो। किनभने कुनै पनि मान्छे पूर्णरूपले एक्लै हुन्न। हरेक सफलतामा अरूको भूमिका हुन्छ — कसैले साथ दिएको हुन्छ, कसैले प्रेरणा दिएको, कसैले त्याग गरेको। अहंकारले त्यस सबै योगदानलाई मेटाउँछ, अनि स्वार्थी ’म’ को मूर्ति खडा गर्छ।
अहंकारले बनाएको गल्ली साँघुरो मात्र होइन, अँध्यारो पनि हुन्छ। किनभने त्यहाँ आलोचना सुन्न पाइँदैन, त्यहाँ सुधारको मौका दिइँदैन । त्यो गल्लीमा हिँड्नेलाई लाग्छ, ऊ एक्लै अगाडि बढिरहेको छ — तर वास्तवमा ऊ आफ्नो घेराभित्र घुमिरहेको हुन्छ । ऊ अड्किन्छ, बाँचिरहेको जस्तो देखिन्छ, तर बढ्दैन ।
हाम्रो संस्कृति, दर्शन र साहित्यमा अहंकारलाई अत्यन्तै घातक दुर्गुणका रूपमा लिइएको छ । महाभारतको दुर्योधन, जसले अहंकारको कारण आफ्ना सबै प्रियजन गुमायो । रामायणको रावण, जसले विनम्रताका लागि झुक्न सक्ने थिएन, त्यसैले पतनको बाटोमा लाग्यो। बुद्धले पनि भन्नुभएको छ — “अहंकार नै दुःखको मूल कारण हो।“
कविहरूले अहंकारलाई अग्निको समान मानेका छन् — जसले आफूलाई जलाउँछ, अरूलाई पनि पोल्छ । यो अग्नि कुनैपनि सम्बन्धको पुल जलाउन सक्छ । एकपटक पुल जल्यो भने, फर्कन कठिन हुन्छ । साँघुरो गल्लीमा एकपटक पसियो भने, फर्किने मोड खोज्न समय लाग्छ ।
तर यद्यपि, यो गल्ली साँघुरो छ — बन्द छैन । अहंकार त्यस्तो पर्खाल हो, जुन हामी आफैंले बनाएका हुन्छौं । त्यसैले त्यसलाई भत्काउने सामथ्र्य पनि हामीभित्रै हुन्छ । सानो आत्ममूल्याङ्कन, विनम्रता, र क्षमाशीलताले त्यो गल्लीलाई फेरि चौडा बाटोमा रुपान्तरण गर्न सक्छ ।
हामीले यथार्थमा बुझ्नुपर्ने कुरा के हो भने — महानता झुक्न सक्ने क्षमतामा हुन्छ, चिच्याएर होइन, मौन भएर अरूलाई सुन्न सक्ने सामथ्र्यमा हुन्छ । जीवनको साँचो सार तब भेटिन्छ जब हामी अरूलाई साथ लिएर अघि बढ्न सिक्छौं । अहंकारले हामीलाई पहाडमा पुर्याउँछ, तर त्यो पहाड चढ्दा हात समाउने कोही हुँदैन । विनम्रता भनेको हो — जब हामी आफूलाई केही नठानेर पनि अरूका लागि सबैथोक बन्न सक्ने बनोट लिन्छौं ।
समाजको बनावट नै आपसी समझदारीमा टिकेको हुन्छ । जहाँ अहंकार प्रबल हुन्छ, त्यहाँ असहिष्णुता, द्वेष र दूरी बढ्छ । अहंकारको गल्ली साँघुरो मात्र होइन — छुट्टिएको पनि हुन्छ । त्यहाँ हामी अरूको अनुहार देख्दैनौं, केवल आफ्नो छायाँ देख्छौं — जुन कहिलेकाहीँ डर लाग्दो पनि हुन्छ। किनभने त्यो छायाँ आफैँको हो भन्ने बुझ्न हामी तयार हुँदैनौं ।
मानिसले सबैभन्दा ठूलो जित तब हासिल गर्छ जब ऊ आफैँको कमजोर पक्षसँग जुध्न सक्छ । जब ऊ स्वाभाविक रूपमा ’म’ भन्ने आवाजलाई संयमित गर्न सक्छ । जब ऊ आफ्नो उच्चता अरूको सम्मानमा खोज्न जान्दछ, तब त्यो साँघुरो गल्ली चौडा बाटो बन्छ ।
साँचो आत्म–सम्मान आफूलाई ठूला बनाउने होइन, सारा जीवनलाई समेट्न सक्ने बनाउने हो । जीवन एउटा नदी हो — विनम्रतासाथ बग्ने । अहंकार भनेको बाँध हो — जसले रोक्ने प्रयास गर्छ, तर आफूभित्रै डुब्छ ।
हामी सबै कुनै न कुनै रूपमा कहिल्यै न कहिल्यै अहंकारको गल्लीमा पस्छौं । कसैले प्रशंसा पाउँदा हाम्रो मन तिनलाई स्वीकार्न कठिन मान्छ । कसैले हाम्रो सुझाव अस्वीकार ग¥यो भने, हामी रिसाउँछौं । तर यस्ता साना प्रतिक्रियाहरू नै भविष्यका ठूला समस्याको बीउ हुन्छन् । त्यसैले ती बीउलाई पलाउनु अगावै चिन्नु आवश्यक हुन्छ ।
हाम्रो समाजमा अहिले देखिएको अशान्ति, असहिष्णुता, र विखण्डनको जरो पनि यही अहंकार हो — व्यक्तिमा, संस्थामा, र राज्यमा। जब हामी ‘हामी’ भन्दा ‘म’ लाई बढी मूल्य दिन थाल्छौं, तब हामी साझा भविष्य होइन, व्यक्तिगत घेराभित्र मात्र बाँधिन्छौं ।
तर आशा सधैं बाँकी हुन्छ। एउटा सानो क्षमाशील मुस्कानले पनि अहंकारको ढोका खोल्न सक्छ । एउटा सानो झुकाइले सम्बन्ध पुनः जोड्न सक्छ । अहंकारको साँघुरो गल्लीको अन्त्य त्यतिबेला हुन्छ, जब हामी आत्माको प्रकाशमा अघि बढ्छौं — निष्कपट, निस्वार्थ, र विनम्र भएर ।