Butwal Today

सेयर बजार लगातार तेस्रो दिन उकालो, कारोबार रकम ७ अर्ब नाघ्यो

१७ असार २०८२, मंगलवार
अ+
अ-

काठमाडौं, १७ असार ।

नेपाली सेयर बजारमा मंगलबार पनि हरियाली छाएको छ। लगातार तेस्रो दिन बजार उकालो लाग्दा नेप्से परिसूचक २८.९१ अंकले उक्लिएको छ। यो वृद्धिसँगै नेप्से २६६० अंकमा पुगेको छ। यसअघि आइतबार २६ अंक र सोमबार ९ अंकले सूचक माथि उक्लिएको थियो।

मंगलबार बजारको कारोबार रकम पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो दिन ६ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार ७ अर्ब ३ करोड रुपैयाँ पुगेको छ।

आजको बजारमा २१७ कम्पनीका सेयर मूल्य बढेका छन् भने ३१ कम्पनीको सेयर घटेका छन्। अधिकांश सेक्टर सकारात्मक रहे। लगानी समूह सबैभन्दा बढी २.३८ प्रतिशतले बढ्यो। त्यसैगरी माइक्रोफाइनान्स २.२२, हाइड्रोपावर १.३८, जीवन बीमा १.१२, र विकास बैंक १.२१ प्रतिशतले उकालो लागे।

सामुदायिक लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य आज समान रूपमा ९.८७ प्रतिशतले उक्लिएको छ। बरुण हाइड्रोपावरको ८.४१, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ८.३१ र सपोर्ट माइक्रोफाइनान्सको सेयर ८ प्रतिशतले वृद्धि भएको छ।

यसबारे विश्लेषकहरूले बजारमा लगानीकर्ताको आत्मविश्वास बलियो बन्दै गएको बताएका छन्। पछिल्ला दिनमा देखिएको निरन्तर सुधारले बजार थप उचाइमा पुग्ने अपेक्षा गरिएको छ।